वीरगंज, २१ जेठ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले छुवाछुतलाई हाम्रो समाजको कलंक भएको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आयोजित २०औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै नेता पाण्डेले अधिकार मागेर होइन, संघर्ष र आन्दोलनबाट मात्र छुवाछुत अन्त्य गर्न सकिने धारणा राखे।
पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा बोल्दै नेता पाण्डेले नेकपा (एकीकृत समाजवादी) सधैं दलित समुदायको पक्षमा उभिएको बताए। उनले दलित समुदायले सीप र शिक्षा हासिल गर्नुपर्ने र सहेर बस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा मन्त्रीपरिषद्ले यो दिवस मनाउने निर्णय गरेको स्मरण गर्दै भने, “राजावादीहरू वर्गीय आन्दोलनका हिमायती होइनन्, त्यसैले लोकतन्त्रभित्रै छुवाछुत अन्त्य गर्न सकिन्छ।”
नेता पाण्डेले पार्टीले अघि सारेको नेपाली विशेषतायुक्त समाजवादतर्फको यात्रा प्रारम्भ भइसकेको उल्लेख गर्दै भने, “अब सुशासन र रोजगारी हाम्रो समाजवादी यात्राको तयारी हो।”
कलम छाप चिन्ह लिएर अगाडि बढिरहेको नेकपा (एकीकृत समाजवादी) अब समाजवादको पक्षमा उभिने बाँकी वाम दलहरूसँग मात्र एकता गर्न सक्ने र अन्यथा आगामी निर्वाचनमा एकल रूपमा प्रतिस्पर्धा गर्ने उनले बताए।
सरकारमा रहँदा दलितका पक्षमा निर्णय लिने र सरकार बाहिर रहँदा आन्दोलनद्वारा दबाब दिने रणनीति पार्टीको भएको उल्लेख गर्दै उनले पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई एकजुट रहन आग्रह गरे।
वीरगंजको क्यासिल पार्टी प्यालेसमा आयोजित गोष्ठीमा दलित महिला संघकी अध्यक्ष निला राम, पार्टीका केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य रामचन्द्र साह, केन्द्रीय सचिव गणेश विक लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन पार्टी पर्साका अध्यक्ष गंगा अड्काले गरेका थिए भने स्वागत मन्तव्य दलित मुक्ति संगठनका केन्द्रीय सचिव बृजलाल पासवानले प्रस्तुत गरेका थिए। कार्यक्रममा दलित अगुवा महिला तथा पुरुषहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया