वीरगन्ज :

छिपहरमाई गाउँपालिकामा भ्रष्टाचारको आरोप, स्थानीयको धर्ना सुरु

श्रेणी : BANNER

6 months
Pradeep Sah
1.8kViews
1705 Shares

वीरगंज,१४ पुस । पर्साको छिपहरमाई गाउँपालिका कार्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले आइतबार कार्यालय अगाडि धर्ना दिएका छन्। सन्दीप गुप्ताको नेतृत्वमा आयोजित धर्नामा सहभागीहरूले गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा सरकारी बजेटको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।

धर्नामा सहभागीहरूले कन्यादान राशीको विवरण, किसानका खेतमा जडान गरिएका सौर्य सिँचाइका उपकरण, इन्धन वितरण, र पालिकाले खरिद गरेका सवारीसाधनको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। यसका लागि उनीहरूले २६ बुँदे ज्ञापनपत्र गाउँपालिका कार्यालयमा बुझाए पनि कुनै सुनुवाइ नभएको बताइएको छ।

धर्नामा सहभागी धर्मेन्द्र प्रसाद यादवका अनुसार, सूचनाको हक प्रयोग गरेर पटक–पटक माग गरिएको भए पनि पालिकाले सूचना उपलब्ध नगराएको मात्र होइन, उल्टो हातपातको प्रयाससमेत भएको छ।

आफ्ना माग पूरा नभएसम्म गाउँपालिका कार्यालयमा दैनिक दुई घण्टा धर्ना जारी राख्ने स्थानीयले चेतावनी दिएका छन्। गुप्ताले भने, “सरकारी बजेटको पारदर्शिता र हिसाबकिताब माग गर्दा सुनुवाइ नभएपछि यो विरोध सुरु गरेका हौं।”

यो आन्दोलनले गाउँपालिकाका गतिविधिमा पारदर्शिता ल्याउने र भ्रष्टाचारविरुद्ध स्थानीयको आवाज थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *