वीरगन्ज,१८ फाल्गुन । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरका अनिल यादवका परिवारजनले हत्यामा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्। आइतवार नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मृतक अनिलका काका हरिन्द्र यादवले न्यायको लागि अपिल गरेका हुन्।
माघ १३ गते छिपहरमाई गाउँपालिका–२ स्थित नौगावा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल यादवको हत्या भएको थियो। परिवारजनका अनुसार सोही विद्यालयमा अध्ययनरत उज्वाला (मृता कुमारी) नामक युवतीसँग प्रेम सम्बन्ध रहेको भन्दै केटी पक्षका आफन्तहरूले अनिललाई कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन्।
अनिलका परिवारका अनुसार माघ १३ गते साँझ, खाना खाएर वीरगन्ज गएको अनिललाई योजनाबद्ध रूपमा फसाइएको थियो। उज्वालालाई प्रयोग गर्दै उनलाई वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित मोहन साह तेलीको घरमा बोलाइएको थियो। साँझ ५ बजे त्यहाँ पुगेका अनिललाई कोठाभित्र थुनेर कुटपिट गरिएको, धारिलो हतियार तथा पञ्च प्रहार गरी हत्या गरिएको र शव पानी भरिएको खाल्डोमा फालिएको परिवारजनको आरोप छ।
छरछिमेकीहरूले गम्भीर अवस्थामा फेला पारेपछि अनिललाई एडभान्स मेडिकेयर अस्पताल पुर्याए। तर, अस्पतालले उपचार गर्न अस्वीकार गरेपछि उनलाई एल.एस. न्यूरो अस्पताल पुर्याइयो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
घटनापछि प्रहरी प्रशासनले अनिल यादव, विजय यादव, उज्वाला (मृता कुमारी) तथा दिब्यानी कुमारीलाई पक्राउ गरेको थियो। तर, पक्राउ परेकामध्ये नाबालक भएकाले बाल सुधार गृहमा पठाइएको र केहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास भट्टले जानकारी दिए।
डीएसपी भट्टका अनुसार कानुनी प्रक्रियाअनुसार नै नाबालकलाई बाल सुधार गृहमा पठाइएको हो। “यदि अदालतको निर्णय चित्त नबुझे पुनरावेदन गर्न सकिन्छ,” उनले स्पष्ट पारे।
तर, मृतक अनिलका परिवारजनले घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन प्रशासनसँग आग्रह गरेका छन्।
प्रतिक्रिया