
श्रेणी : अपराध
जनकपुर,२९ माघ । नेपाल र भारतसहित मधेश क्षेत्रमा चोरी, डाँका तथा अपहरणलगायत आपराधिक घटनामा फरार एक आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्कनारायण माझी छन् ।महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले विभिन्न आपराधिक घटनामा संलग्न आरोपमा माझीलाई पक्राउ गरेको हो । माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा चोरी, डाँका, लुटपाट तथा अपहरण जस्ता गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए ।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको उनलाई जिल्ला अदालत महोत्तरीमा पेश गरिएको थियो । सोमबार माझीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले बताए ।

प्रतिक्रिया