बीरगन्ज, ६ चैत्र । बारा प्रहरीले चोरी भएको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका – ९ बाँसबरीया टोल बस्ने २१ वर्षीय अनुरुध साह रहेका छन् ।
जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ५ घुसुकपुरस्थित अविनाश यादवको डेराकोठाबाट नगद र एलईडी टिभी चोरी भएको जानकारी प्राप्त भएपछि बारा प्रहरीले अनुसन्धान गर्दै जाँदा साहलाई पक्राउ गर्न सफल भएको हो । साहलाई चैत ३ गते दिउँसो सिम्रौनगढबाट पक्राउ गरिएको बारा प्रहरीले पठाएको प्रेस विज्ञप्तिमा दाबी गरेको छ ।
प्रहरीले साहको साथबाट चोरी भएको २ लाख ३० हजार रुपैयाँ नगद र अभियान कम्पनीको एलईडी टिभी १ थान बरामद गरिएको जनाएकाे छ ।
पक्राउ परेका साहमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया