वीरगन्ज :

चैत्र २३ गते श्री गहवा माईको दोस्रो डोली यात्रा

श्रेणी : धर्म संस्कृति

7 months
Pradeep Sah
2.4kViews
1339 Shares

वीरगन्ज,१२ चैत । वीरगन्जकाे प्रसिद्ध श्री गहवा माई मन्दिरमा दोस्रो डोली यात्रा आउँदो चैत्र २३ गते शनिबार आयोजना हुने भएको छ। माईस्थान संचालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै यस वर्षको चैते दशैंको अष्टमीको दिन डोली यात्रा हुने बताए।

डोली यात्रा दिउँसो ४ बजे गहवा माई मन्दिरको प्राङ्गणबाट निशानसहित सुरू हुनेछ। यात्रा रोड नम्बर २, विर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, र माईस्थान चोकको परिक्रमा गर्दै पुनः गहवा माई मन्दिरमा समापन हुनेछ। यात्रा अघि दिउँसो २ बजे डोली र निशानको विशेष पूजा हुनेछ, जबकि साँझ ६.३० बजे आरती गरिने कार्यक्रम तय भएको छ।

गत वर्षको पहिलो डोली यात्रा सफलतापूर्वक सम्पन्न भएपछि यस वर्ष पनि यसलाई भव्य रूपमा आयोजना गर्न लागिएको छ। गत वर्ष ६ सय ५० वटा गहवा माई अङ्कित निशान वितरण गरिएको थियो र यस वर्ष १ हजार निशान वितरण गर्ने योजना छ। डोली यात्रा सहयोग स्वरूप गहवा माई अङ्कित निशान प्रति ३ सय ५० रुपैयाँमा उपलब्ध गराइने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा महासचिव विजय कुमार उपाध्याय र सचिव कन्हैया लाल केशरी लगायतका अधिकारीहरूको उपस्थिति थियो। आयोजकहरूले सबैको सक्रिय सहभागिता र सहयोगको अपेक्षासमेत व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *