श्रेणी : BANNER
दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।
बुधबार दार्चुलामा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले मात्रै जस लिन खोजेको आरोप लगाए । उनले भने,‘लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा संसदबाट सबैले एउटै आवाज गरेर पास गरेको हो। दुई तिहाइले पास गर्नुपर्ने कुरा ओलीजीले मात्रै गर्न सम्भव छ र ? यसमा प्रचण्डजीको पनि सहयोग छ, नेपाली कांग्रेसलगायत सबै पार्टीको सहयोग छ। ओलीजीले सबै आफैंले गरेको भनेर हिँड्दैछन्।’
उनले एमाले अध्यक्ष ओलीले भ्रम छर्दै हिँडेको आरोप लगाए । ‘ओलीजी दार्चुलामा आएर भाषण गर्दैमा केही हुनेवाला छैन,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी कहाँ छ भन्ने कुरा सबैलाई थाहा छ नि, यस विषयमा सम्पूर्ण नेपाल एक छ।’ उनले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै लामो समय जाने बताए।
सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गरे ।
उनले भने,‘केपी ओलीले होइन नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ। कोही भ्रममा नपार्नुहोला म समेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो। केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन।’
नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनले बताए। यस्तै ओलीले चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप लगाए।
प्रतिक्रिया