श्रेणी : अन्तर्राष्ट्रिय
प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पारिएसँगै चीनका अस्पतालहरू कोभिडका बिरामीले भरिँदै गएका छन् । संक्रमण बढेपछि तुलनात्मक रूपमा हालसम्म कम मानिसहरूलाई खोप उपलब्ध गराइएकोमा अब खोप कार्यक्रमलाई तीव्र पारिने चीन सरकारले जनाएको छ ।
विवादास्पद बनेको शून्य कोभिड नीतिको व्यापक विरोध भएसँगै चीनले कोभिडको प्रकोप देखिएका सहर अनि ग्रामीण क्षेत्रमा सामूहिक परीक्षण गर्न छोडेको छ ।
कोभिडको मन्द लक्षण भएका मानिसहरू अब क्वारन्टीनका लागि बनाइएका केन्द्रहरूमा नगएर घरमै बस्न पाउने व्यवस्था गरिएको छ । आधिकारिक रूपमा चीनले कोभिड सङ्क्रमित र मृतकको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको विवरण सार्वजनिक गर्ने गरेको छ ।
ठूलो सङ्ख्यामा समुदायमा हुने परीक्षण गर्न छोडेसँगै चिनियाँ निकायहरूसँग कोभिड सङ्क्रमणबारे भरपर्दो तथ्याङ्क उपलब्ध छैन ।
यद्यपि अस्पतालहरू कोभिडका बिरामीले भरिएको विवरणहरू सार्वजनिक भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले गम्भिर बिरामी र अस्पतालमा भर्ना भएकाहरूको सङ्ख्याबारे स्पष्ट तथ्याङ्क उपलब्ध गराउन चीनलाई भनेको छ ।
नोभेम्बर महिनाको आधिकारिक तथ्याङ्क हेर्दा चीनमा ८० वर्ष माथिका ४० प्रतिशत मानिसले कोभिडविरुद्ध खोपका दुई मात्रा अनि बुस्टर मात्रा लगाएका छन् । यो उमेर समूहका मानिसहरू कोभिडको सबैभन्दा बढी जोखिममा छन् ।
विगतको अवस्था हेर्दा चीनको खोप दरमा उल्लेख्य सुधार देखिएको छ । यसै वर्षको अप्रिल महिनासम्म ७० देखि ७९ वर्षका ५० प्रतिशत मानिसहरूले खोपको दुई मात्रा र बुस्टर मात्रा लगाएका थिए भने ८० वर्ष माथिका २० प्रतिशतले खोपको उक्त मात्रा प्राप्त गरेका थिए ।
आगामी जनवरी महिनाको अन्त्यसम्ममा ८० वर्ष माथिका ९० प्रतिशत वृद्धबृद्धालाई खोपका दुई मात्रा वा ती दुई मात्रा सहित बुस्टर मात्रा लगाउने लक्ष्य चीनले लिएको बताइएको छ ।
प्रतिक्रिया