
श्रेणी : अन्तर्राष्ट्रिय
दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको कथित हस्तक्षेपलगायतका विषयमा बेइजिङलाई लक्षित गरी जी–सेभेनका नेताहरूले जारी गरेको विज्ञप्तिप्रति चीनले ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा सहभागी नेताहरू शुक्रबारदेखि जापानको हिरोशिमा शहरमा भइरहेको शिखर सम्मेलनमा सहभागी भइरहँदा चीनको यो असन्तुष्टि आएको हो ।
उक्त समूहले एक वक्तव्य जारी गर्दै चीनलाई ‘हस्तक्षेपकारी गतिविधि नगर्न’ आग्रह गरेको छ र विशेषगरी तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा चीनमा कथित मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरेको छ ।
दक्षिण चीन सागरको क्षेत्रीय विवादलाई लिएर जी–सेभेन राष्ट्रहरु ‘गम्भीररूपमा चिन्तित’ रहेको र अप्रत्यक्ष रूपमा चीनले ‘जबर्जस्ती’ गरेको आरोप लगाएका छन् । बेइजिङलाई जी–७ ले युक्रेनमाथिको आक्रमण अन्त्य गर्न रूसलाई दबाब दिन आफ्नो प्रभाव प्रयोग गर्न पनि आग्रह गरेको छ ।
तर चीनको विदेश मन्त्रालयले जवाफी प्रतिक्रिया दिँदै जी–सेभेनको दृष्टिकोणको कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको बताएको छ । यसअघि, चीनले सम्मेलन सकिनुपूर्व नै हतार गरी संयुक्त विज्ञप्ति जारी गरिएको र यसको उद्देश्य प्रष्ट नभएको बताएको थियो । जी–सेभनको वक्तव्यमा ‘ताइवान टापू वरपरको जल क्षेत्रमा शान्ति र स्थिरताको महत्व’ मा जोड दिएको तर ‘ताइवान आन्दोलन’बारे स्पष्ट विरोध नदेखाएको भन्दै समूहको आलोचना गरेको छ ।

प्रतिक्रिया