श्रेणी : प्रदेश
काठमाडौँ, २२ पुस । चिसो मौसमसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणमा उल्लेखनीय वृद्धि भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई पुगेको छ ।
वातावरणविद् भुषण तुलाधारका अनुसार, चिसो मौसममा वायु प्रदूषणको सम्भावना गर्मीयामको तुलनामा बढी हुन्छ। चिसो मौसममा हावा जमिनको सतहमा लामो समयसम्म रहन्छ, जसले गर्दा प्रदूषणको सन्चार बढ्छ। त्यस्तै, दिउँसोको समयमा घाम लागेर तापक्रम बढ्दा प्रदूषणको स्तर उच्च हुँदै जान्छ। चिसो मौसममा फोहोर जलाउने र टायर, दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन मद्दत पुर्याउने बताइएको छ ।
आजको एक्यूआईका अनुसार, काठमाडौं उपत्यका विश्वको पाँचौं सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ। यस सूचीमा लाहोर (पाकिस्तान) शीर्ष स्थानमा रहेको छ, जहाँको एक्यूआई ३४१ छ। यसपछि, भारतको कोलकातामा २४८, मङ्गोलियाको उलानबाटरमा २३८ र भारतको नयाँ दिल्लीमा २२७ एक्यूआई छ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार, शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ, ५१ देखि १०० सम्म होसियार रहन चेतावनी दिन्छ। १०१ देखि १५० सम्मको एक्यूआईले श्वासप्रश्वासमा समस्या र मुटु रोगीलाई खतरा पुर्याउँछ। १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ मानिन्छ र त्यसभन्दा माथिको प्रदूषणलाई अत्यधिक अस्वस्थ मानिन्छ ।
काठमाडौंको वायु प्रदूषणको स्तर तीन सयभन्दा बढी पुगेमा यसलाई विपदको रूपमा लिइने कुरा २०७६ को वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा उल्लेख गरिएको छ। यस कार्ययोजनामा फोहोर जलाउने कार्य रोक्न, सडक सफा गर्ने र सार्वजनिक स्थानमा विशेष सावधानी अपनाउनुपर्ने कुरा पनि भनिएको छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार, प्रदूषण न्यूनीकरणका लागि विभिन्न मापदण्ड तयार गरेर कार्यान्वयन गर्ने तयारी भइरहेको छ, जसमा प्रदूषणको जोखिममा रहेका प्रमुख सहरहरूमा गुणस्तर मापन केन्द्र स्थापना गर्ने योजना छ ।

प्रतिक्रिया