वीरगन्ज :

चिनियाँ नागरिकद्वारा नाबालिकासँग विवाहको प्रयास, बेहुला र बेहुलीका बुवा प्रहरीको नियन्त्रणमा

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.6kViews
1581 Shares

कलैया (बारा), ११ मंसिर । बारामा एक चिनियाँ नागरिकले नेपाली नाबालिकासँग विवाह गर्ने तयारी गरेको सुराकी पाएपछि प्रहरीले बुधबार मध्यराति छापामारी बेहुला तथा बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको छ । करैयामाई गाउँपालिका–१ हरैयास्थित एक घरमा विवाहका तयारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले तत्काल हस्तक्षेप गरेको जिल्ला प्रहरीले जनाएको छ ।

विवाहको तयारीकै बीच पक्राउ
पक्राउ परेका चिनियाँ नागरिकबारे प्रारम्भिक अनुसन्धानमा पासपोर्ट र भिसा व्यवस्थित रहेको पाइएको छ । तर, विवाह गरिँदै गरेको युवती कानुनी उमेरभन्दा कम (१८ वर्ष) मात्र भएकाले प्रहरीले विवाह रोक्दै सबैलाई नियन्त्रणमा लिएको हो । नेपालको कानुन अनुसार विवाहका लागि पुरुषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पूरा हुनुपर्छ ।

वडाध्यक्ष सोनालाल साहका अनुसार चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै पुगेका थिए । साहले भने, ‘कानुन अनुसार उमेर नपुगेका कारण विवाह अवैधानिक हो । प्रहरी आएर तीनै जनालाई नियन्त्रणमा लियो ।’

हरैया क्षेत्रमा लगातार बढ्दै विदेशी–स्थानीय विवाहका घटना
हरैया र आसपासका बस्तीमा पछिल्ला वर्षहरूमा चिनियाँ नागरिक र स्थानीय मुस्लिम महिलाबीच विवाह हुने घटना दोहोरिरहेको प्रहरीको भनाइ छ । प्रहरीले पाएको सुराकी अनुसार, गत एक वर्षमै केवल त्यही बस्तीमा कम्तीमा ३ वटा विवाह चिनियाँ नागरिकसँग भइसकेका छन् ।

स्थानीयवासीका अनुसार यी विवाहहरू प्रायः परिवारकै सहमतिमा भएपनि उमेर, कानुन, पारिवारिक समझदारी तथा विवाहपछिको सुरक्षाबारे यथोचित जानकारी नहुँदा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दछन् ।

प्रहरीको थप अनुसन्धान जारी
प्रहरीले विवाह प्रयोजनका लागि आएको चिनियाँ नागरिकको गतिविधि, आर्थिक लेनदेन, मध्यस्थकर्ताको संलग्नता तथा यसअघि भएका विवाहबारे समेत व्यापक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले बिहीबार जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । स्थानीय तह र सुरक्षानिकायबीच समन्वय गर्दै बालविवाह तथा अवैधानिक अन्तरदेशीय विवाह रोक्ने अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *