वीरगन्ज :

चितवन निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ जना कारबाहीमा

श्रेणी : राष्ट्रिय

7 months
Pradeep Sah
2.9kViews
1729 Shares

चितवन,०३ पुस । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो ।

निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए । यसबीचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उनको भनाइ छ ।

पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुई वटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए ।

गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भङ्गालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको ध्रुव पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा काल गतिले मरेको अवस्थामा फेला परेको उनले बताए । काल गतिले मरेका दुवै गैँडा काल गतिको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।

त्यस्तै मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा छ वर्षीय बाघ मृत अवस्थामा भेटिएको उनले जानकारी दिए । अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यसअवधिमा गैँडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा जिल्ला नवलपुरको कावासोती–७ का ६५ वर्षीय चुनबहादुर बोटे र मङ्सिर ८ गते नवलपुरकै मध्यविन्दु–६ का ६५ वर्षीय नाथुराम महतोलाई खेतबारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा मृत्यु भएको उनले जानकारी दिए ।

निकुञ्जले वन्यजन्तु संरक्षण अभियानअन्तर्गत समुदायसँग सहकार्य गरी काम गरिरहेको भन्दै जाडो महिनामा अझै व्यवस्थित रूपमा अभियान चलाउने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *