
श्रेणी : प्रदेश
चितवन,०७ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ डडुवा नजिकै शनिबार बिहान यात्रुबाहक बस र इभी माइक्रोबस आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतकहरूको सनाखत भइनसकेको भए पनि तीन पुरुष र दुई महिला रहेको पुष्टि भएको छ। सबैको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुबाहक बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको इभी माइक्रोबसलाई ठक्कर दिएको हो। ठक्करपछि माइक्रोमा सवार अधिकांश यात्रुहरू घाइते वा मृतकमा परेका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। स्थानीयवासी, प्रहरी र उद्धार टोलीको संयुक्त प्रयासमा सबै घाइतेलाई सकुशल अस्पताल पुर्याइएको हो।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले प्रारम्भिक अनुसन्धानमा तीव्र गति र सम्भावित ब्रेक फेलको कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताए। विस्तृत अनुसन्धान भने जारी रहेको जनाइएको छ।


प्रतिक्रिया