वीरगन्ज :

चितवनको रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बन्ने

श्रेणी : स्वास्थ्य

2 years
birgunj report
23Views
0 Shares

चितवन । चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ ।

केन्द्रका प्रमुख डा कोपिला अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि चार करोड बजेट विनियोजन भएर काम भइरहेको जानकारी दिइन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा उक्त भवनका लागि पुनः तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उनले बताइन् । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताइन् ।

उनका अनुसार आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिव १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, ल्याब, एक्सरे, भिडियो एक्स–रे कक्ष रहने उनले बताइन्।

भवन निर्माण सम्पन्न भएसँगै बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिने डा अधिकारीले बताइन् । हालसम्म जिल्लामा आयुर्वेद अस्पतालमा बिरामी भर्ना सुविधा छैन । उनले भनिन् “भवन निर्माण सम्पन्न भएपछि अस्पतालबाट बिरामीलाई राम्रो सेवा प्रवाह गर्न सकिन्छ ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र मातहतमा गत आव २०७८/७९ मा ५६ हजार बिरामीले सेवा लिएका थिए । चालु आवमा यो सङ्ख्या अझै बढ्ने अस्पतालको आकलन छ ।

केन्द्रअन्तर्गत रत्ननगरको बकुलहरमा स्वास्थ्य केन्द्र, कालिका–७, खैरहनी–१२ र इच्छाकामना–३ मा तीनवटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । यस्तै भरतपुर–१५ शिवनगरमा जीवनशैली व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ ।

स्थानीय सरकारमातहत भरतपुरको देवघाट, शिवघाट, कविलास, गुञ्जनगर, पटिहानी, मेघौलीमा आयुर्वेदिक औषधालय रहेका छन् । यस्तै माडी–१, राप्ती–१ मा पनि आयुर्वेदिक औषधालय छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य गरी थेरापीका बिरामीको चाप बढी हुने गरेको डा अधिकारीले जानकारी दिइन् ।

बाथव्यादीका बिरामी, नसा च्यापिएको, हड्डी खिइएका बिरामीलाई औषधोपचार र बाफले सेक्ने स्नेहन स्वदेन, ढाड दुख्नेका लागि कट्टीबस्ती, घुँडाको दुखाइका लागि जानुबस्ती, घाँटीका लागि गृभाबस्ती, दुखाइ, सुनिएको पत्रपिण्ड स्वेदन, अनिन्द्रा, एन्जाइटी, तनाव व्यवस्थापनका लागि शिरोधारा, नसारोगका लागि मात्राबस्ती गरिँदै आएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *