श्रेणी : BANNER
बारा,२८ पुस । बाराको सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पताल चिकित्सकहरूको लापरवाही र व्यवस्थापनको कमजोरीका कारण अस्तव्यस्त बनेको छ। ड्युटी समयमा निजी क्लिनिकमा व्यस्त हुने चिकित्सक र बिग्रिएका उपकरण समयमा मर्मत नगर्ने प्रवृत्तिले अस्पतालको सेवा प्रभावित भएको छ।
अस्पतालमा सात वर्षअघि जडान भएको एक्सरे मेसिनको प्रिन्टर बिग्रिएपछि बिरामीहरूलाई निजी अस्पतालमा गएर महँगो शुल्कमा सेवा लिन बाध्य बनाइएको छ। अशक्त बिरामीलाई अस्पतालकै स्ट्रेचरमा राखेर बाहिरबाट एक्सरे गराउनु पर्ने अवस्था सामाजिक सञ्जालमा भाइरल बनेपछि केही सुधारका प्रयास सुरु भएका छन्।
एक्सरे विभाग प्रमुख राजेशकुमार सिंहका अनुसार कम्प्युटर स्क्रिनमा देखिने रिपोर्टलाई मोबाइलले खिचेर काम चलाइएको छ। अस्पतालमा दैनिक १०० देखि १५० बिरामी एक्सरे गर्न आउने गरे पनि पुरानो र झन्झटिलो मेसिनले समस्या निम्त्याएको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुशवाहाको सरुवा र नयाँ प्रमुख नआउँदा व्यवस्थापन झन् अस्तव्यस्त बनेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अनुगमनले अस्पतालका केही समस्याहरू उजागर गरे पनि तत्काल सुधार हुन नसकेको जनाइएको छ।
अस्पतालका व्यवस्थापन समिति अध्यक्ष प्रकाश चौगाईंले स्वास्थ्य मन्त्रालयको उदासीनताले समस्या झन् बढेको स्वीकार गर्दै चाँडै सुधारका कदम उठाउनुपर्ने बताए। निजी अस्पतालहरूको बढ्दो प्रभाव र चिकित्सकको उपस्थिति कमीले सरकारी अस्पतालको सेवामा गम्भीर असर परेको छ।
प्रतिक्रिया