
श्रेणी : अर्थ
काठमाडौँ,२४ वैशाख । देशका विभिन्न मेडिकल कलेजमा कार्यरत आवासीय तथा अन्य चिकित्सकहरू विगत ३५ दिनदेखि आन्दोलनमा छन्। ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’को अगुवाइमा भइरहेको आन्दोलनको मुख्य माग भने पारिश्रमिक भुक्तानी र कार्यस्थलमा हुने धम्कीपूर्ण व्यवहारको अन्त्य हो।
यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच केही सहमति भइसकेको छ, आन्दोलन भने रोकिएको छैन। समितिका अनुसार कतिपय निजी मेडिकल कलेजहरूले तीन महिनासम्म पनि चिकित्सकहरूलाई पारिश्रमिक नदिएको र उनीहरूलाई निरन्तर धम्की दिइरहेको गुनासो छ।
सङ्घर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेका अनुसार केही मेडिकल कलेजहरूले आठौँ तहको सरकारी मेडिकल अधिकृत बराबरको पारिश्रमिक दिन थाले पनि अधिकांशले अझै पनि पुरानो बेवास्ता दोहोर्याइरहेका छन्। “न त पारिश्रमिक आएको छ, न त धम्की रोकिएको छ। त्यसैले आन्दोलनलाई हामीले निरन्तरता दिएका छौँ,” उनले भने।
समितिले चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार पारिश्रमिक भुक्तानी, निःशर्त ड्युटीमा फर्किने वातावरण र आन्दोलनका कारण शैक्षिक वा पेशागत समस्याहरू नआउने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेको छ।


प्रतिक्रिया