वीरगन्ज :

चार महिनामै वीरगंज महानगरको २१ करोड राजस्व संकलन

श्रेणी : अर्थ

2 weeks
Pradeep Sah
1.6kViews
1382 Shares

वीरगंज (पर्सा), ११ मंसिर । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा उल्लेखनीय रूपमा २१ करोड ३ लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि कात्तिकसम्मको अवधिमा विभिन्न २० शीर्षकका कर तथा सेवा शुल्कमार्फत यो राजस्व उठाइएको महानगरले जनाएको छ ।

सबैभन्दा बढी संकलन सम्पत्ति करबाट भएको छ । चार महिनामै महानगरले यस शिर्षकबाट ७ करोड ५६ लाख रुपैयाँ राजस्व उठाएको छ, जसले सम्पत्ति कर तिर्ने नागरिकको संख्या क्रमशः बढ्दै गएको संकेत गर्छ । भूमिगत मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० रुपैयाँ, घरवहाल करबाट १ करोड ६० लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै, पूर्वाधार सेवाको उपयोगबापत लगाइने शुल्कबाट २ करोड रुपैयाँ राजस्व प्रवेश भएको छ ।

महानगरले अखेटोपहार (वस्तु तथा उपहार आदिमा लगाइने कर) शिर्षकमा पनि उल्लेखनीय प्रगति गर्दै ५ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । अन्य सेवा शुल्क तथा प्रशासनिक शीर्षकबाट मात्र १ करोड ४९ लाख ८३ हजार रुपैयाँ राजस्व उठाइएको छ ।

राजस्व बढ्दो, तर अझै अपेक्षित गतिमा छैनः मेयर सिंह
महानगरका मेयर राजेशमान सिंहले राजस्व वृद्धि सकारात्मक देखिएपनि अपेक्षाकृत स्तरमा पुग्न अझै चुनौती रहेको बताए । उनका अनुसार महानगरले कर तिर्ने संस्कृतिलाई मजबुत बनाउन निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

‘महानगरको राजस्व अभिवृद्धिका लागि विविध कार्यक्रममार्फत जनचेतना बढाइरहेका छौँ,’ मेयर सिंहले भने, ‘तर यहाँका नागरिकमा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने सोच अझै पर्याप्त रूपमा विकसित हुन नसक्दा राजस्व संकलनमा चुनौती भइरहेको छ ।’ उनका अनुसार कर संकलनमा पारदर्शिता र सेवाको गुणस्तर वृद्धि गर्दै नागरिकलाई कर तिर्न प्रोत्साहित गर्ने गरी कार्यक्रम थप सशक्त बनाइनेछ ।

२० शीर्षकबाट नियमित राजस्व संकलन
वीरगंज महानगरले विभिन्न २० शिर्षकमा कर उठाउँदै आएको छ, जसमा सम्पत्ति कर, घरवहाल कर, पूर्वाधार सेवा शुल्क, मालपोत, व्यवसाय कर, अखेटोपहार, विज्ञापन शुल्कलगायत सेवाहरू समावेश छन् ।

स्थानीय तहको आर्थिक व्यवस्थापन मजबुत बनाउन राजस्व मुख्य आधार भएकाले महानगरले आगामी महिनाहरूमा कर संकलन प्रवर्धनलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ । राजस्व संकलनका तथ्यांकले महानगरमा कर प्रशासन सुदृढ हुँदै गएको संकेत गरेपनि नागरिकस्तरमा करप्रति जिम्मेवारीबोध अझै न्यून देखिएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *