श्रेणी : मधेस
रौतहट,२२ पुस । रौतहटको उत्तरी क्षेत्र चन्द्रनिगाहपुरबाट दुई जनालाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर नगर क्षेत्रमा भएका विभिन्न चोरी र लुटपाटका घटनामा संलग्न रहेको आशङ्कामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
डिएसपी राजकुमार राईका अनुसार पक्राउ परेका व्यक्तिहरू चन्द्रपुर–४ का २२ वर्षीय मिलन विश्वकर्मा र २५ वर्षीय संजय सिंह हुन्। उनीहरूमाथि चोरीसम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद थप गरिएको छ।
अनुसन्धानको क्रममा उनीहरूले विभिन्न समयमा राति र दिनको समयमा घरभित्र पसेर चोरी गर्ने गरेको स्वीकार गरेका छन्। प्रहरीले थप विवरण संकलन गर्न र अन्य सम्भावित संलग्नताबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ।
चोरी र लुटपाट नियन्त्रणका लागि प्रहरीले चन्द्रपुर क्षेत्रमा निगरानी थप कडा बनाएको डिएसपी राईले बताए। पक्राउ परेका आरोपीहरूमाथि कानुनी कारबाही प्रक्रिया जारी रहेको छ।
प्रतिक्रिया