वीरगन्ज :

घरेलु हिंसापीडित महिलालाई अस्पतालमै भेट्दै रास्वपा सांसद कानुको उपचार खर्च बेहोर्ने घोषणा

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1834 Shares

बीरगन्ज,०५ चैत । पर्सा–२ का नवनिर्वाचित रास्वपा सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा भोगेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीसँग बिहीबार भेटघाट गर्दै सांसद कानुले पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले उपचारमा कुनै कमी नआओस् भनी आफ्नो तलब वा अन्य स्रोतबाट उपचार खर्च व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने आश्वासन पनि दिएका छन्।

सांसद कानुले पीडितमाथि आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई छिट्टै पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरीले सक्रियता देखाउन आग्रह गरेका छन्। उनले भने, “सामान्य घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने जस्ता अमानवीय अपराध गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्छ।”

सांसद कानुले महिला हिंसा रोकथामका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याउँदै संसद् अधिवेशनमा यस विषयलाई उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। “घरेलु हिंसा रोक्न समाजका सबै पक्ष सक्रिय हुनुपर्छ। सरकारसँग पीडित महिलाको लागि राहतको व्यवस्था गर्न पनि माग गर्नेछु,” उनले भने।

घटना के हो?
पर्सा, पर्सागढी नगरपालिका–७ मा आइतबार बिहान करिब ७ बजे घरायसी विवादको क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकला देवी सहनीको हातखुट्टा र मुख बाँधेर आरी प्रयोग गरी खुट्टा काटेका थिए। गम्भीर घाइते अवस्थामा रहेकी सहनीलाई प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारपछि वीरगन्ज नारायणी अस्पताल लगिएको थियो। उपचार सम्भव नहुँदा उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल सारिएको थियो।

अहिलेसम्म फरार रहेका आरोपी विश्वनाथ सहनीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पीडित सहनीको स्थायी घर बाराको परवानीपुर गाउँपालिका–५, नौतनमा रहेको छ।

यस घटनाले घरेलु हिंसाप्रति सचेतना र कडा कानुनी कारबाहीको आवश्यकतालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *