
श्रेणी : BANNER
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गाउँगाउँमा विज्ञान प्रविधिका उपलब्धि पुगेपनि त्यसको प्रयोगबारे सिकाउन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यी विषयहरू पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने बताएका हुन् ।
उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विजुली प्रयोग गर्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताए । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।
उनले भने, ‘म पुस ३ गते जलन केसबाट जुन मैले परिवेश बेर्होनुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो, त्यो अवस्था धेरै नेपालीहरूले भोगिरहनुभएको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिलेको वर्षमा मेरो आमा थपिँदा १११ पुगेको थियो । यो जलन केस देशभरि फैलिएको छ । यसमा गम्भीर हुनुपर्छ ।’
उनले नेपालमा चिकित्सकहरु अब्ब्ल भएको तर व्यवस्थापनमा समस्या रहेको बताए । सांसद भण्डारीले जलनको उपचार गर्ने कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा भवन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । फागुन ३ गते आगलागीमा परी घाइते भएका उनको उपचार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि उनी वैशाख १७ गते स्वदेश फर्किएका हुन् । बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा निधन भएको थियो ।


प्रतिक्रिया