श्रेणी : BANNER
राजविराज,१३ कात्तिक । सप्तरीको राजविराज नगरपालिका–७ का ८० वर्षीय देवनारायण साह र उनकी ७५ वर्षीया पत्नी शान्तिदेवी अहिले आफ्नै घरबाट निकालेपछि न्यायका लागि चौतर्फी गुहार मागिरहेका छन्। सांसद बुहारी र छोरामाथि गरेको आरोपसहितको उनीहरूको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना सार्वजनिक बनेको हो।
देवनारायणका अनुसार गत असोज २० गते मन्दिर गएका बेला छोरा विनोदकुमार साह र बुहारी किरणकुमारी साहले घरको दराज फोडी १ लाख २५ हजार रुपैयाँ र सम्पत्ति सम्बन्धी कागजात कब्जामा लिएर उनीहरूलाई घरबाट निकालेका हुन्। “कागजात कब्जामा लिएपछि ‘अब यो घर मेरो हो’ भन्दै गालीगलौज र धम्की दिए,” देवनारायणले बताए। उनका अनुसार प्रहरीमा उजुरी गरे पनि सुनुवाइ भएको छैन।
पूर्वकर्मचारीसमेत रहेका देवनारायणले छोराबुहारीको हातबाट निरन्तर शारीरिक र मानसिक यातना पाएको दाबी गरेका छन्। “दुई छोरा इन्जिनियर र डाक्टर बनाएँ, अहिले वृद्ध अवस्थामा सडकमा आउनुपर्यो,” उनले भने।
उता, जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद किरण साहले भने आरोप अस्वीकार गर्दै आफूलाई अनाहकमा मुछिएको प्रतिक्रिया दिएकी छन्। उनका अनुसार ‘सेफ्टी ट्याङ्क सफा गर्ने विषयमा सामान्य विवाद’ भएको मात्र हो।
त्यस्तै, विनोद साहले पनि बुवाआमाले आफूमाथि झूटो आरोप लगाएको दाबी गरेका छन्। उनका भनाइमा, दसैंमा घर फर्किंदा घर अस्तव्यस्त देखिएपछि व्यवस्था मिलाउने क्रममा विवाद भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीका अनुसार देवनारायण साहको नाममा अहिलेसम्म कुनै औपचारिक उजुरी दर्ता भएको छैन।

प्रतिक्रिया