वीरगन्ज :

घडिअर्वाको रामजानकी मन्दिर पूजारी तिवारीले फेरि कब्जा गर्ने प्रयास, मंदिर जोगाउन स्थानीय एकजुट

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.8kViews
1076 Shares

बीरगन्ज, २१ असोज । बीरगन्ज महानगरपालिका–१० घडिअर्वास्थित ऐतिहासिक रामजानकी मन्दिर पुनः पूजारीको कब्जामा पर्न नदिन स्थानीय बासिन्दा एकजुट भएका छन्। मंगलबार आयोजित भेलाले मन्दिरको सञ्चालन तथा व्यवस्थापनका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

वडाध्यक्ष सुशील साह कानु प्रमुख संरक्षक रहेको समितिमा विदूर प्रसाद कलवार, नन्दु साह कानु, हरि साह कानु, प्रकाश सिंह, राजु साह तुराहा, मनोहर साह, प्रभाकर गुप्ता, अंगद साह कानु, मुन्ना साह, सन्तोष मरहठ्ठा र क्रान्ति शाह सदस्य रहेका छन्।

समितिका सदस्य मनोहर साहका अनुसार पूजारी शम्भुनाथ तिवारीले फेरि मन्दिर आफ्नो नियन्त्रणमा लिने प्रयास गरेपछि स्थानीयवासीले एकजुट भएर प्रतिवाद गरेका हुन्। “अब मन्दिरको स्वामित्व, सञ्चालन र व्यवस्थापन समितिको जिम्मामा रहनेछ,” उनले भने।

समितिका अर्का सदस्य प्रभाकर गुप्ताले नवगठित समितिको जानकारी औपचारिक रूपमा वीरगन्ज महानगरपालिकाका मेयरलाई दिने तयारी भइरहेको बताए। “यो मन्दिर वीरगन्जबासीको साझा आस्था र सम्पदा हो। यसलाई कसैको निजी स्वार्थमा पर्न दिइने छैन,” उनले चेतावनी दिए।

यसअघि पूजारी शम्भुनाथ तिवारीले आफू मन्दिरको पुजारी भएको दाबी गर्दै करिब ३० वर्षदेखि मन्दिर परिसरमा बनाइएका सटरहरू भाडामा दिँदै अतिक्रमण गरेका थिए। तर, २०७९ चैत २५ गते वीरगन्ज महानगरपालिकाले मन्दिर परिसर अतिक्रमणमुक्त बनाउँदै पक्की संरचना डोजर लगाएर भत्काएको थियो।

उक्त कार्यमा मेयर राजेशमान सिंह स्वयं उपस्थित रहेका थिए। त्यसपछि मन्दिरमा सौन्दर्यकरण गरी भारतबाट ल्याइएका भगवान् राम, सीता र हनुमानका मूर्तिहरू स्थापना गरिएको थियो।पुजारी तिवारीले त्यसबेलै मन्दिर तोडफोड नगरियोस् भन्दै उच्च अदालत, अस्थायी इजलास वीरगन्जमा रिट दायर गरेका थिए। तर, अदालतले महानगरपालिकाको पक्षमा फैसला गरेपछि मन्दिर क्षेत्रबाट अतिक्रमण हटाइएको थियो।

हाल पुनः पूजारी तिवारीले मन्दिर नजिकैबाट नयाँ गेट निर्माण गर्दै मन्दिरमा प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय युवाहरूले शुक्रबार बिहान प्रतिवाद गर्दै उनको योजनालाई रोकेका थिए।स्थानीयको भनाइमा, “यो मन्दिर हाम्रो धार्मिक र सांस्कृतिक पहिचान हो। यसलाई कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा पर्न दिइने छैन।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *