श्रेणी : BANNER
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गौर हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासँग जोडिएको घटना नभएको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले पीडित आन्दोलनकारीहरूलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नहुने बताएका हुन् । उनले गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतली सत्ताको अंकगणितभन्दा माथि उठ्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्,‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलवकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न । स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृसंस आतंक र हत्याकाण्ड थियो ।’
उनले अहिलेको सरकारले घटनाका पीडितलाई न्याय दिनेमा पनि उनले आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ । शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसवारे केही गर्न नसकेकोमा आत्मालोचित छौं । सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् ! सत्य र न्यायको जित एक दिन अवस्य हुनेछ !’ सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार पाँच बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया