
श्रेणी : अपराध
रौतहट,०३ भदौ । १८ वर्षअघि रौतहटको गौरमा भएको चर्चित हत्याकाण्ड फेरि छानबिन हुने भएको छ। सर्वोच्च अदालतले घटनामा संलग्नमाथि अनुसन्धान अघि बढाउन परमादेश दिएसँगै तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष (हाल जसपा नेपालका) उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धानको बाटो खुलेको हो।
२०६३ चैत ७ गते गौरस्थित राइस मिल चौरमा माओवादी र मधेशी जनअधिकार फोरम (मधेशी मुक्ति मोर्चा) बीच भएको भीषण झडपमा ५ महिलासहित २७ माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने ४२ जना घाइते भएका थिए। तर, घटना लामो समयसम्म राजनीतिक दबाबका कारण अलपत्र रह्यो।
मृतकका परिवारले क्षतिपूर्ति पाए पनि न्याय नपाएको भन्दै पीडित पक्ष सर्वोच्च पुगेपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
अब पीडितले दिएको जाहेरी र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढ्नेछ। आयोगले यसअघि घटनालाई ‘नियोजित, क्रूर र मनसाययुक्त अपराध’ भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको थियो।
सर्वोच्चको आदेशपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदी र रौतहटका एसपी नेत्रमणि गिरीले आदेशअनुसार छानबिन अघि बढाउने बताएका छन्।
पीडित त्रिभुवन साहले आदेशपछि न्यायको आशा पलाएको बताए। “अब दोषीलाई कारबाही हुने विश्वास पलाएको छ,” उनले भने।


प्रतिक्रिया