रौतहट,०३ साउन । नेपाल–भारत खुला सिमाना भएको गौर भन्सार नाकामा तस्करी बढ्दै जाँदा सरकारको राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ। गौर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा राजस्व असुली लक्ष्यको केवल ८४.४१ प्रतिशत मात्र पूरा भएको हो।
भन्सार कार्यालयका सूचना अधिकारी दिनेश कुमार घिमिरेका अनुसार कृषि सुधार शुल्क, कोइला, रासायनिक मल, र कपडाको आयात घटेको कारणले राजस्व संकलनमा कमी आएको हो। विशेषगरी प्लान्ट क्वारेन्टाइन नहुँदा कृषिजन्य वस्तुहरूको आयात प्रभावित भएको बताइएको छ।
कार्यालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। तर २९ करोड ९१ लाख ३० हजार रुपैयाँ मात्र संकलन हुन सकेको प्रमुख विकास कुमार रजकले जानकारी दिए।
गत वर्षको तुलनामा पनि यस वर्ष राजस्व संकलनमा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८५.९६ प्रतिशत लक्ष्य पूरा गरिएको थियो भने यो वर्ष त्यो घटेर ८४.४१ प्रतिशतमा सीमित भएको हो।
स्थानीयबासी मिथिलेश कुमार झाले तस्करी नियन्त्रणका लागि सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। “प्लान्ट क्वारेन्टाइनको स्थापना र सीमामा हुने तस्करी रोक्न कडा निगरानी आवश्यक छ,” उनले भने। उनले गौर नाकामा प्रहरीको सेटिङमा तस्करी मौलाएको आरोप पनि लगाएका छन्।

    
						
    
    
									
									
									
									
        
        
प्रतिक्रिया