
श्रेणी : मधेस
रौतहट,२७ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले गौरस्थित प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य (एमसिएच) क्लिनिक र चमेना गृह (क्यान्टिन)को उद्घाटन गरेका छन्।
मंगलबार आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन आवश्यक रहेको उल्लेख गर्दै न्यूनतम खर्चमा गुणस्तरयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए। साथै, गौर प्रादेशिक अस्पतालमा नर्सिङ अध्ययन सुरु गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
मुख्यमन्त्री सिंहले अवैध रूपमा सञ्चालनमा रहेका केही निजी अस्पतालहरू अनुगमनमार्फत बन्द गराइएको र पुनः सञ्चालनमा आएका कतिपय संस्थाले अझै मापदण्ड पूरा नगरेको जानकारी प्राप्त भएको बताए। उनका अनुसार अस्पताल अनुगमनलाई निरन्तरता दिइनेछ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले संघीयता अघि र पछि अस्पतालको अवस्थामध्ये स्पष्ट सुधार आएको उल्लेख गर्दै मधेशलाई स्वस्थ बनाउने दिशामा प्रदेश सरकार अग्रसर रहेको बताए। स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले पनि प्रादेशिक अस्पतालहरू क्रमशः सुधारको नमुना बन्दै गइरहेको र विभेद नगरी सबै अस्पतालको विकासमा ध्यान दिइएको बताए।


प्रतिक्रिया