रौतहट,२७ फाल्गुन । गौर नगरपालिकाका जनप्रतिनिधिहरू भूमाफियासँग मिलेर गौरको ऐतिहासिक धरोहर राइस मिलको जग्गा बेच्न लागेको आरोप लगाउँदै राइस मिल बचाऊ संघर्ष समिति, रौतहट-गौर ले आन्दोलनलाई निरन्तरता दिइरहेको छ।
गाउँ, टोल र वडा हुँदै शहर केन्द्रित आन्दोलन गरिरहेको संघर्ष समितिले सोमबार विरोध प्रदर्शनको क्रममा गौरको बीपी चोकमा टायर बालेर प्रदर्शन गरेको छ। प्रदर्शनमा एमाले नेता अजय गुप्ता, नेपाली कांग्रेसका नेता मोहन यादव, जनता समाजवादी पार्टीकी महिला नेतृ किरण ठाकुर सहित विभिन्न दलका स्थानीय नेताहरू सहभागी भएका थिए।
यसैबीच, गौर नगरपालिकाका प्रमुख शम्भु साहले भने आरोपलाई गलत बताउँदै जनतालाई सचेत हुन अपिल गरेका छन्। उनले नगरपालिकाले जनहितविपरीत कुनै निर्णय नगर्ने दाबी गर्दै, केही व्यक्तिहरूले निहित स्वार्थका लागि गलत प्रचार गरेको बताएका छन्।
राइस मिल जग्गा बचाउन संघर्ष समितिले चरणबद्ध आन्दोलन जारी राख्ने बताएको छ भने नगरपालिकाले वास्तविक तथ्य बाहिर ल्याउने तयारी गरिरहेको जनाइएको छ।
प्रतिक्रिया