वीरगन्ज :

गोरखा-२ मा प्रचण्डको उम्मेदवारीले प्रतिस्पर्धी छायाँमा

श्रेणी : BANNER

3 years
birgunj report
30Views
0 Shares

गोरखा । प्रायः जसो निर्वाचनमा गोरखा चर्चामै रहन्छ । यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि यो जिल्ला चर्चामा छ । मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाअन्र्तगत गोरखा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम–लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएसँगै गोरखा फेरि एक पटक चुनावी चर्चामा छ ।

पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६४ र २०७४ को निर्वाचनमा सहजै जित निकालेको यस क्षेत्रमा उनकै प्रस्तावमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्रले आफ्नो बलियो जानाधार रहेको मान्दै आएको यस क्षेत्रमा गठबन्धनको साझा उमेदवारका रूपमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा उनको मुख्य प्रतिस्पर्धीका रूपमा नेकाप (एमाले) का उमेदवार अब्दुस मियाँ अगाडि आएका छन् ।

कुल एक लाख पाँच हजार २४० मतदाता रहेको उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पालिका प्रमुखमा २३ हजार ३४६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले २२ हजार ८४४ र नेपाल समाजवादी पार्टीले आठ हजार ९३ मत पाएको थियो । गत निर्वाचनमा एमालेले यस क्षेत्रमा पालिका प्रमुखमा पाँच हजार २७१ मत मात्र पाएको थियो ।

स्थानीय तह निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा ५४ हजार २८३ मत झरेको देखिएको छ । क्षेत्र नम्बर २ का पालुङटार नगरपालिका, गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले पालिका प्रमुख जितेको छ भने सिरानचोक गाउँपालिका कांग्रेस विजयी भएको छ ।

दश वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका अध्यक्ष दाहाल दुई पटक प्रधानमन्त्री भइसक्नुभएको छ । राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएका अध्यक्ष दाहालको प्रतिस्पर्धीका रूपमा विपक्षी एमालेले मियाँलाई अगाडि सारेको छ । बलियो गठबन्धन र राष्ट्रिय राजनीतिमा स्थापित नेताको उम्मेदवारीले प्रतिस्पर्धी मियाँलाई छायाँमा पारेको छ । सो क्षेत्रमा मत सङ्ख्याको हिसाबले माओवादी पहिलो, कांग्रेस दोस्रो, डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी तेस्रो र एमाले चौथो शक्तिका रूपमा रहेका छन् ।

यस पटकको निर्वाचनमा आफूहरू जित्ने मात्रै भन्दा पनि नयाँ कीर्तिमान कायम गर्ने गरी चुनावी मैदानमा होमिएको अध्यक्ष दाहालको चुनावी नेतृत्व गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी बताउँछन् । उनले भने, “अधिकतम कति मतान्तरमा चुनाव जित्न सकिन्छ भन्ने हो ।”

अध्यक्ष दाहाल यस क्षेत्रबाट निर्वाचित हुँदा गोरखामा विकास हुने भएकाले पनि यहाँका मतदाता उहाँलाई विजयी गराउन उत्सुक देखिएको अधिकारीको भनाइ छ । “गोरखाको विकास र समृद्धिको पक्षमा रहेका सबै पार्टीका नेता, कार्यकर्ता र आमजनतामा अध्यक्ष दाहालसँग ठूलो अपेक्षा छ” उनले भने, “गोर्खाली जनता राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा समेत स्थापित दाहाललाई जिताएर गोरखाबाट राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिन चाहन्छन् ।”

क्षेत्र नम्बर २ मा निर्वाचन परिचालनको जिम्मेवारी सम्हालेका एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ आफ्नो पार्टीको निर्वाचन जित्ने आधार जनता नै भएको दाबी गर्छन् । “हाम्रो निर्वाचन जित्ने मुख्य आधार जनता नै हो”, उनले भने, “सही नीति, कार्यक्रम र व्यवहारका कारण एमालेले निर्वाचन जित्छ ।” परिस्थिति सुहाउँदो उम्मेदवार प्रस्तुत गरेकाले पनि एमालेले निर्वाचन जित्ने अध्यक्ष गुरुङको भनाइ छ । उनले एमालेप्रति जनताको अगाध माया र सद्भाव रहेको तथा सरकारको नेतृत्वमा रहँदा गरेको योगदानका कारण पनि गोरखा २ मा गठबन्धनलाई पराजित गरिने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *