
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पूँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।
मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए । उनले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पुर्याउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पूँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको औंल्याए ।
उनले गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए । उनले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैरनागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘तपाईंहरुले धेरै उठाउँदै आएको कुरा नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ । आफूसँग भएको सीप, पूँजीहरु नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’


प्रतिक्रिया