वीरगन्ज :

गाँठो पार्ने नभई फुकाउने राष्ट्रपति पाएका छौँ, नागरिकताको समस्या समाधान हुन्छः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
17Views
0 Shares

बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’

‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ“ प्रधानमन्त्रीले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’

प्रधानमन्त्रीले भने,’यसअघि राजस्व घटेको थियोे, चोरीपैठारी बढेको थियो। अर्थतन्त्र संकटमा थियो। तर अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो।’

‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो“ प्रधानमन्त्रीले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो। संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको हो। त्यसैले उपेन्द्रजीले जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं।’

सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *