वीरगन्ज :

गाँजा खेती नष्ट गर्ने पर्सा प्रहरी अभियान पुनः सुरु

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.0kViews
1853 Shares

वीरगंज (पर्सा), ८ पुस । पर्सा जिल्लामा केही समयदेखि रोकिएको लागू औषध गाँजाको अवैध खेती नष्ट गर्ने प्रहरीको अभियान पुनः सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानमा लुकीछिपी अवैध रूपमा भइरहेको गाँजा खेतीलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय तथा चौकीमार्फत अभियान नै सञ्चालन गर्दै आएको थियो । तर पछिल्ला केही महिनादेखि उक्त अभियान स्थगित अवस्थामा थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक जिम्मेवारीमा आएपछि सोमबारदेखि पुनः गाँजा खेती फडानी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो । अभियानको पहिलो दिन नै पर्सा प्रहरीले जिल्लाका दुई स्थानीय तहमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

सोमबार जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा गरी करिब साढे तीन कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको १५ जनाको प्रहरी टोलीले जिराभवानी गाउँपालिका–५ हरैया स्थित भलुवाही खोलाको बगरमा अन्दाजी एक कठ्ठा र पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवामा अन्दाजी दुई दशमलव पाँच कठ्ठा गरी कुल तीन दशमलव पाँच कठ्ठा जमिनमा लगाइएको गाँजा खेती फडानी गरेको हो ।

ती दुई स्थानमा गरी करिब ७ हजार ५०० वटा गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । उनका अनुसार अवैध लागू औषध उत्पादन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी सक्रियताका साथ अभियानमा जुटेको छ ।

गाँजा खेती फडानी तथा नष्ट गर्ने अभियान सोमबारदेखि निरन्तर रूपमा सञ्चालन गरिने पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए । यसका लागि जिल्लाभर रहेका मातहतका सबै प्रहरी युनिटलाई आवश्यक निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए ।

जिल्लाको कुनै पनि स्थानमा कसैले अवैध रूपमा गाँजा खेती गरेको जानकारी भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न प्रहरी उपरीक्षक पाठकले जिल्लाबासीसँग सार्वजनिक अपिलसमेत गरेका छन् । अवैध लागू औषध नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *