श्रेणी : अर्थ
काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल चैतमा सकिँदै गर्दा नयाँ गभर्नरको नियुक्तिको चर्चा तीव्र बनेको छ। आगामी गभर्नर बन्ने आकांक्षामा धेरैजसो अर्थशास्त्र र वित्तीय क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरू योजनासहित नेताहरूसँग सक्रियतापूर्वक सम्पर्कमा छन्।
महाप्रसाद अधिकारी २०७६ चैत २४ मा गभर्नर नियुक्त भएका थिए। नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार, गभर्नर पदमा नियुक्ति पाउनका लागि व्यक्तिले उच्च नैतिक चरित्र, स्नातकोत्तर उपाधि, र कम्तीमा १० वर्षको सम्बन्धित क्षेत्रको अनुभव हासिल गरेको हुनुपर्छ। गभर्नरको चयनका लागि सरकारले तीन जनाको नाम सिफारिस गर्छ, जसबाट मन्त्रिपरिषद्ले एकजनालाई नियुक्त गर्दछ।
यस पटक गभर्नर पदका लागि केही चर्चित नामहरू अघि आएका छन्। राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र नीलम ढुंगाना तिमल्सिनाको सम्भावना बलियो मानिएको छ। यस्तै, पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, पूर्वअर्थसचिव रामेश्वर खनाल, र लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट पनि प्रतिस्पर्धीको सूचीमा छन्।
राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक राजनसिंह भण्डारी, लालशंकर घिमिरे, रवीन्द्र पाण्डे तथा वर्तमान कार्यकारी निर्देशकहरू डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्टको नाम पनि गभर्नरको दौडमा छ।
नयाँ गभर्नरले मुलुकको मौद्रिक नीति र वित्तीय क्षेत्रको स्थायित्वलाई सुनिश्चित गर्दै आर्थिक सुधारका महत्त्वपूर्ण निर्णय लिनुपर्ने भएकाले यसपटकको नियुक्ति थप चासोको विषय बनेको छ। प्रतिस्पर्धीहरूले आफ्नो दाबीलाई बलियो बनाउन विभिन्न योजनाहरू अघि सारेका छन्।
प्रतिक्रिया