
श्रेणी : प्रदेश
काठमाडौं,१० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रवर्द्धनका लागि हुने सबैखाले कार्यक्रमलाई पूर्ण समर्थन गर्ने बताएको छ। पार्टीले आफ्ना सबै मातहतका कमिटी र जनवर्गीय संगठनहरूलाई गणतन्त्र विरोधी गतिविधिहरूको प्रतिरोध गर्दै गणतन्त्र पक्षधर प्रदर्शन, आमसभा, विरोध र संघर्षका कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको छ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार समान विचारधारा भएका वामपन्थी शक्तिहरूबीच एकता मजबुत बनाउँदै गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सबै कमिटीलाई परिपत्र गरिएको छ।
यसै सन्दर्भमा समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्पूर्ण सदस्यहरूलाई सक्रिय रहन आग्रह गरिएको छ।
पार्टीले मुलुकमा सुशासन, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणलाई प्राथमिकता दिँदै समाजवादी अभियान सञ्चालन गरिरहेको जनाएको छ। संगठन विस्तारलाई केन्द्रीय कार्यसूची बनाउँदै अघि बढिरहेको एकीकृत समाजवादीले गणतन्त्रलाई थप सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया