
श्रेणी : धर्म संस्कृति
बीरगन्ज,२६ साउन । विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको सौन्दर्य र वातावरणीय सन्तुलन संरक्षणका लागि महागढीमाई फाउण्डेशनले ‘स्वच्छ वातावरण, समृद्ध समाज’ नारासहित वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षाविद् र युवाहरूको उल्लेखनीय सहभागिता रह्यो। अभियानमा वर्ल्ड लिंक बाराले सहयोग र महागढीमाई नगरपालिकाले सहकार्य गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले हरियाली बिना समृद्धि सम्भव नभएको बताउँदै यस्तो अभियानले जीवनशैली र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उल्लेख गरे। त्यस्तै, खल्ती एपका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै फाउण्डेशनको सक्रियतालाई प्रशंसा गरे।
सो अवसरमा पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, वर्ल्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी जितेन्द्र गुप्ता, गढीमाई नमूना माविका प्रधानाध्यापक धर्मेन्द्र यादवलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। सहभागीहरूलाई गम्छा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता फाउण्डेशनका संयोजक सुनील कुशवाहाले गरेका थिए भने सञ्चालन जयराम कुशवाहाले गरेका थिए। विभिन्न जातजाति र समुदायका युवाहरूको सक्रिय सहभागिताले सामाजिक ऐक्यबद्धताको सन्देश दिएको आयोजकको भनाइ छ।
फाउण्डेशनले भविष्यमा पनि यस्ता वातावरणमैत्री अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले स्थानीय स्तरमा हरियाली विस्तार र प्राकृतिक सन्तुलन कायम राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया