
श्रेणी : मधेस
जनकपुर,२३ असार । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सत्ता सञ्चालनका लागि एमाले–काँग्रेस गठबन्धन २०८४ सालसम्म कायम रहने दाबी गर्नुभएको छ।
प्रेस चौतारी नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले सत्ता पक्षकै केही सांसदहरूले सरकार ढाल्ने प्रयास गरे पनि गठबन्धन दुवै पार्टी नेतृत्वको सुझबुझका कारण अझ बलियो बन्दै गएको बताउनुभयो। “गठबन्धन तोड्न माओवादी केन्द्रले पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको छैन,” महासेठको भनाइ थियो।
उहाँले विगतका गठबन्धन सरकारले भन्दा अहिलेको गठबन्धन सरकारले उत्साहजनक काम गरेको दाबी गर्दै वर्तमान सरकारले गरेका कामकाजका कारण देशको आर्थिक र सामाजिक अवस्थामासमेत सुधार आएको उल्लेख गर्नुभयो।
पूर्व राष्ट्रपति र वर्तमान प्रधानमन्त्रीबीच अन्तरविरोध रहेको भन्ने हल्ला मात्रै भएको बताउँदै महासेठले पूर्व राष्ट्रपतिलाई संविधान र पार्टी विधानले प्रतिबन्ध नगरेकाले पार्टीमा पुनः फर्किनु स्वाभाविक भएको टिप्पणी गर्नुभयो। “म कुनै व्यक्तिकेन्द्रित होइन, पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्छु,” उहाँले स्पष्ट पार्नुभयो।
महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणका लागि आफू सुरुबाटै आवाज उठाउँदै आएको बताउँदै भवन धनुषाको नगराइन–मनियारीस्थित जग्गामा बन्ने भएमा कुनै आपत्ति नरहेको बताउनुभयो।
त्यसै कार्यक्रममा एमाले नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतोले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका विषयमा राजनीति गर्ने नेताहरूको पर्दाफास गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। “जनकपुरको विकासका लागि हामी प्रतिवद्ध भएर काम गरिरहेका छौँ, तर केही नेताहरू विकासविरोधी गतिविधि गरेर जनतालाई भ्रममा पार्न खोजिरहेका छन्,” महतोको भनाइ थियो।


प्रतिक्रिया