श्रेणी : BANNER
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता गरेर आफूहरूले देशलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । सोमबार लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता नभएको भए देश अफगानिस्थान जस्तो हुने बताए ।
आमनेसामने हुने शक्तिहरूको बीचमै सहमति भइसकेपछि शान्ति आउने बताए। उनले शान्ति सम्झौता नभएको भए १७ हजारको मात्रै नभएर लाखौँको ज्यान जान सक्ने स्थिति आउने अवस्थामा गुज्रिरहेको परिस्थिति भएको बताए । उनले गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगिएको बताए ।
उनले भने, ‘हामीले शान्ति सम्झौता नगरेको भए मैले भन्ने गरेको छु ५० औँ हजार मात्रै नभएर लाखौँ मानिसको ज्यान जान सक्थ्यो। त्यो भएको भए के हुन्थ्यो ? कुनै पक्षले पुरै जित्नै र कुनै पक्षले पुरै हार्ने स्थिति देखिएको थिएन। त्यो भएपछि नेपाल एउटा असफल राष्ट्र बन्न सक्ने र विदेशी सेना आउन सक्ने अवस्था थियो । त्यसैले सबैले गहिरो गरी बुझ्न आवश्यक छ।’
प्रचण्डले गठबन्धनको एकमात्र एजेण्डा सुशासन, विकास र समृद्धि भएको बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेर करिब दुई तिहाईको जनमत गठबन्धनको सरकारमा छ भन्ने सावित गर्यौं। अब यो संघ र प्रदेशको निर्वाचनमा पनि हामीलाई अत्यधिक मतले जिताउँदा भोलि बलियो गठबन्धनको सरकार बन्छ। गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि नै हो। अरु कुनै अजेण्डा छैन।’
उनले राजनीतिक स्थायित्वका लागि गठबन्धनले विजय हासिल गर्नुपर्ने भन्दै शेरबहादुर देउवा र आफू देशभर घुमेको बताए। उनले देशव्यापी रुपमा गठबन्धनको लहर बढ्दै गएको दाबी गरे ।
प्रतिक्रिया