
श्रेणी : मधेस
बीरगन्ज,०५ भदौ । प्रसौनी गाउँपालिका–४, खुटवामा स्थानीय समस्याहरू र तिनका सम्भावित समाधानबारे छलफल गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा बिहीबार आयोजित छलफल कार्यक्रममा पार्टीका मधेस प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री जितेन्द्र सोनल सहभागी भएका थिए।
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष भोला गुप्ता, पूर्व वडा अध्यक्ष आनन्द गुप्ता, लोसपा इकाई सभापति मदन क्षेत्री, सतन पासवान, बृजकिशोर साह, बृजकिशोर ठाकुर, तेजनारायण पासवान, रामनिवास मण्डल, ब्रह्मदेव पासवान, चैत पासवानलगायत नेता तथा स्थानीयको उपस्थिति थियो।
नेता सोनलले छलफलका क्रममा स्थानीयवासीका समस्या सुनिदै, समस्याको दीर्घकालीन समाधानका लागि पार्टी र प्रदेश तहमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनतासँगको प्रत्यक्ष संवादले सही समस्या पहिचान गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा सहभागी स्थानीय नेताहरूले खेतमा सिंचाइको अभाव, सडकको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच, र शैक्षिक सुधारलगायतका मुद्दा उठाएका थिए। उनीहरूले जनस्तरमा अनुभूत भइरहेका समस्या समाधान गर्न पार्टी नेतृत्व अझ सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरे।
छलफलमार्फत जनप्रतिनिधि र जनताको समन्वयमा नीति निर्माणमा सघाउ पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्। कार्यक्रमले स्थानीय समस्या सम्बोधन गर्न राजनीतिक दलहरूको भूमिकाको आवश्यकता झल्काएको छ।


प्रतिक्रिया