श्रेणी : BANNER
वीरगञ्ज, १२ फागुन । जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले चुनावी अभियानलाई थप सक्रिय बनाउँदै वीरगंज महानगरपालिका–२१ का कुशवाहा टोल र तात्वा टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, सुझाव तथा अपेक्षाबारे जानकारी लिएका थिए।
स्थानीयले उम्मेदवारलाई स्वागत गर्दै सबैभन्दा ठूलो चुनौतीका रूपमा खानेपानी अभाव रहेको बताएका छन्। नियमित र सुरक्षित पानीको व्यवस्था नहुँदा विशेषगरी महिला र बालबालिका प्रभावित बनेको उनीहरूको भनाइ थियो। कतिपय हातेधारा बिग्रिएको, पाइपलाइन जडान भए पनि पानी नआउने समस्या रहेको तथा यसले स्वास्थ्यमा समेत असर पुर्याएको गुनासो गरिएको छ।
शिक्षा क्षेत्रमा पनि सुधार आवश्यक रहेको स्थानीय अभिभावकहरूले बताएका छन्। सरकारी विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको कमीले विद्यार्थी प्रभावित भएको उनीहरूको भनाइ थियो। आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि निजी विद्यालयमा छोराछोरी पढाउनुपर्ने बाध्यता रहेको अभिभावकहरूले सुनाए।
स्वास्थ्य सेवाको पहुँच सीमित भएको गुनासो पनि दोहोरिएको छ। सामान्य उपचारका लागि समेत बजार क्षेत्र धाउनुपर्ने अवस्था, स्वास्थ्य चौकीमा औषधि तथा जनशक्ति अभाव र आकस्मिक अवस्थामा यातायात समस्या मुख्य चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो।
कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरू पनि स्थानीय किसानहरूले उठाएका छन्। सिँचाइ सुविधा अभाव, मलखाद र बिउबिजनको कमी, उत्पादनको उचित मूल्य नपाउने अवस्था तथा बजार व्यवस्थापन कमजोर हुँदा कृषिमा निराशा बढेको उनीहरूको भनाइ थियो। किसानमैत्री नीति र दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिइएको छ।
स्थानीयका समस्या सुनेपछि उम्मेदवार सरार्फले विकासको आधार स्थानीय आवश्यकता र जनसहभागिता नै भएको उल्लेख गर्दै खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युवालाई लक्षित रोजगारी कार्यक्रम, किसानमैत्री नीति र सामाजिक न्याय सुदृढीकरण आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए।
“जनताको विश्वास पाएर संसदमा पुगेपछि यहाँका समस्याको दिगो समाधानका लागि पहल गर्नेछु,” उनले भने। अभियानमा महिला समूहको समेत सक्रिय सहभागिता रहेको जनाइएको छ।
स्थानीय मतदाताले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा सकारात्मक अनुभूति भएको बताए पनि विगतमा धेरै आश्वासन मात्रै प्राप्त भएको तर कार्यान्वयन कमजोर रहेको गुनासो दोहोर्याए। यसपटक परिणाम देखिने नेतृत्वलाई समर्थन गर्ने उनीहरूको धारणा रहेको छ। पर्सा जिल्ला क्षेत्र नम्बर १ मा घरदैलो कार्यक्रम निरन्तर विस्तार हुँदै गएको जनाइएको छ।

प्रतिक्रिया