वीरगन्ज :

खाद्यान्न सम्झौता अन्त्यले युक्रेनी किसानमा उब्जाएको चिन्ता

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
birgunj report
5Views
0 Shares

रूसले यसै साता ‘ब्ल्याक सी’ निर्यातलाई अनुमति दिने सम्झौताबाट बाहिरिएपछि भण्डार स्थानान्तरणमा बढ्दो अवरोधबारे विचार गर्दै युक्रेनी किसान भिटाली बाइलेन्कोले आफ्नो भण्डारमा रहेको अन्नको पहाडलाई दुःखी नजरले हेरे ।

युक्रेन, युरोपेली मुलुक र संयुक्त राज्य अमेरिकाले गत जुलाईमा संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको ऐतिहासिक सम्झौता रद्द गर्ने मस्कोको निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।

तर बाइलेन्कोले इस्तानबुलमा भएको सम्झौताले वास्तवमा महिनौंसम्म मुस्किलले काम गरेको बताए । ‘यसले कागजमा मात्र काम गरिरहेको थियो । त्यो पनि अन्त्य भएको छ,’ बाइलेन्कोले भने ।

युक्रेनले खपत गर्ने भन्दा धेरै गहुँ उत्पादन गर्दछ र निर्यातले विश्वव्यापी खाद्य सुरक्षा र विशेषगरी अफ्रिकी देशहरूमा योगदान पुर्याउँछ । यो सम्झौता रद्द भएपछि विश्वमा अभाव वा मूल्यवृद्धिको डर बढेको छ जसले कमजोर देशहरूलाई सबैभन्दा बढी असर पार्न सक्छ ।

युक्रेनका अधिकारीहरूले हालैका महिनाहरूमा रूसले सम्झौतामा अवरोध गरेको आरोप लगाएका थिए । बाइलेन्कोका अनुसार केही जहाजहरू युक्रेनी बन्दरगाहहरूमा खाद्यान्न निर्यात गर्न पहिले नै वैकल्पिक मार्गहरू प्रयोग गरिरहेका थिए ।

उनले भने, ‘ओडेसामा हामीबाट अन्न किन्ने प्रस्तावहरू कम थिए र हामीले पहिले नै हाम्रा लगभग सबै अन्नहरू साना नदी र बन्दरगाहहरूमा लगेका थियौं ।’ बरु, एक हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उनको आफ्नो खेतमा लगाएको गहुँ, मकै र सूर्यमुखी छमेकी देश रोमानिया हुँदै जाँदै थियो । उनले करिब ३५ जनालाई रोजगारी दिने गहुँ, मकै र सूर्यमुखी खेती गर्छन् ।

‘मलाई लाग्छ (यस वर्ष) को लागि बाँकी पाँच महिनामा पर्याप्त परिवर्तन हुनेछैन ।. तर रोमानियाको मार्ग ‘ब्ल्याक सी’ मार्गभन्दा अधिक महङ्गो र जटिल छ । नदीमार्फत् जोडिने अन्य बन्दरगाह उहाँको खेतबाट ओडेसाभन्दा लगभग २०० किलोमिटर टाढा छ ।

बाइलेन्कोले चिन्ता ब्यक्त गर्नुभयो, “हाम्रो नाफाको अनुपात घट्दै गएको छ, उनले भने । ‘विकल्पहरूको अभावको कारण, अन्न अब रोमानिया मार्फत पठाइनेछ । यसले मूल्यलाई थप कम गर्छ ।’

रोमानियालगायत पाँच छिमेकी युरोपेली मुलुकले आफ्नो स्थानीय बजारमा मूल्य घट्ने चिन्ताका कारण युक्रेनको खाद्यान्न बिक्रीमा रोक लगाएका छन् ।

‘जति धेरै उत्पादन हुन्छ, त्यति नै कम मूल्य हुन्छ । यो बर्ष गहुँ राम्रो फलेको थियो । खेतमा ४०० टन गहुँ थुप्रिएको छ । युद्ध अघि, मूल्य प्रति टन २७० अमेरिकी डलरको हाराहारीमा आसपास थियो, अहिले किन्नेहरूले प्रति टन १२० अमेरिकी डलरप्रस्ताव गर्छन् । हामीले प्रति टन १३५ सम्म पाउन सके राहत हुने भन्दै क्रिरहेका छौँ । तर खाद्यान्नको मूल्य वृद्धिको कुनै सङ्केत देखिँदैन ।’

सम्झौतालाई जोगाउन युक्रेनले ‘ब्ल्याक सी’ सँग सीमा जोडिएका अन्य देशहरूसँग संयुक्त गस्तीको प्रस्ताव गरेको छ तर रूसले युक्रेनी बन्दरगाहनजिक रहेका जहाजहरूलाई निशाना बनाउने धम्की बारम्बार दिँदै आएको छ ।

बाइलेन्को एक प्रतिनिधि पात्रका रूपमा युक्रेनी किसानको पीडा व्यक्त गरेका छन् । उनी भन्छन्, “स्थिति पीडादायी हुन सक्छ । गएको गृष्ममा किसानहरूले आफुहरूसँगको अन्न जसरी पनि बेच्न सक्नेमा आशावादी बनेका थिए । युक्रेनमा अन्नको प्रतीकात्मक महत्व याद गर्न गाह्रो छ ।”

किभशोभाटा एग्रोका अर्का कृषि व्यवसायका प्रमुख कार्यकारी अधिकृत ल्युडमिला मार्टिनयुकको कार्यालय गहुँको बोक्रा र राष्ट्रिय कवि तारास सेभचेन्कोको चित्रले सजाइएको छ ।

युक्रेनमा गहुँ र अन्य बाली लगाउन करिब तीन करोड हेक्टर उर्वर भूमि रहेको उनले बताए । मार्टिनयुकले भने, ‘युरोप, एसिया र अफ्रिकाका बजारहरूमा हाम्रो पहुँच हुनु हाम्रो लागि धेरै महत्वपूर्ण छ । यसले विश्व बजारमा खाद्य असुरक्षाको समस्यालाई सम्बोधन गर्छ । तर सम्झौताको अन्त्य हुनु सबैका लागि दुःखको बिषय बनेको छ ।’

उनले भने, ‘यो सम्झौता ‘निकै अप्रिय’ थियो किनभने यसको अर्थ युक्रेनी उत्पादकहरू घाटामा बेच्न बाध्य बनेका थिए । यसको अन्त्यले मूल्य पाउने सम्भावना बढेपनि ढुवानीका लागि बाटोको समस्या हुँदा बजारको अभाव भने भएको छ । हामी युरोपले प्रस्ताव गरेको उच्च मूल्यमा बिक्री गर्न सक्षम हुनेछैनौं,’ उनले दु:खेसो पोखे ।

‘युक्रेन गरिब छ । हामी त्यहाँ (यूरोपमा) हुन आवश्यक छ,’ उनले थपे । मार्टिनयुकले भने, ‘यसबाहेक, अफ्रिकी देशहरूमा अन्न सम्झौताको अन्त्यको प्रभाव पनि चिन्ताको विषय हो,” हामी अफ्रिकामा अनिकाल हुन दिन सक्दैनौं ।’

उनले सम्झौता नवीकरणका लागि ‘सक्रिय वार्ता’को आह्वान गरेका छन् । सम्झौतामा युक्रेनी किसानले पाउने गरेको न्यून मूल्यबारे पनि सोच्नुपर्नेमा उनले जोड दिए ।

उनको कम्पनीले जापानी लगानीकर्ताहरूको सहयोगमा दुई हजार ५०० हेक्टरमा हिउँदे गहुँ, मकै, सूर्यमुखी र ज्वार खेती गर्दछ ।अमेरिकाले बनाएको ‘कम्बाइन हार्वेस्टर’हरू खेतमा काम गरिरहेका छन् र हिउँदे गहुँ काटिरहेका छन् । ‘यो अन्न अब बिक्री गर्न आवश्यक हुनेछ र निर्यातमा रोक भएको र उत्पादन राम्रो भएकोले घरेलु बजारमा मूल्य अत्यधिक कम छ,’ मार्टिनयुकले भने ।

ओडेसा बन्दरगाहहरू बन्द भए तापनि उनको फर्मले पनि बाइलेन्कोले जस्तै युक्रेनको नदी बन्दरगाहहरूमार्फत् निर्यात गर्ने योजना बनाएको छ । केही सिपिङ कम्पनीहरूले ओडेसाबाट जलयात्रा जारी राख्ने प्रयास गर्न सक्ने सुनेको तर रूसी आक्रमणका कारण यो सम्भव छ कि छैन भन्ने स्पष्ट नभएको उनले बताए ।

यद्यपि युक्रेनको अन्नको प्रचुरता र अपेक्षाकृत कम लागतले अन्ततः मार्टिनयुकजस्ता किसानलाई विश्व समुदायले यसप्रति केही न केही सोच्नेछ भनी आशावादी बन्न बल मिलेको छ । उनले भने , ‘हाम्रो उत्पादन धेरै सस्तो छ र हामी युरोपेली तथा अन्य बजारमा प्रतिस्पर्धी छौं भन्ने देखेका छौँ । तपाईंहरूको (फ्रान्सेली तथा अन्य यूरोपेली) मुलुकको खाद्य सुरक्षाको लागि, यो धेरै महत्वपूर्ण छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *