
श्रेणी : राजनीति
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको बताएका छन् ।
नेकपा (एमाले) कास्की जिल्ला कमिटीद्वारा शनिबार पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले एमालेले आफ्नो भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहेको बताए ।
महासचिव पोखरेलले गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गरे, ‘को हो तपाईंहरूको निर्वाचनपछिको प्रधानमन्त्री ? शेरबहादुर देउवा ? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहन्छौं । कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ ?’
जनमतका विरोधी माधव–प्रचण्ड काँग्रेससँग सिटको भीख माग्दै
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको स्पष्ट गर्दै महासचिव पोखरेलले प्रचण्ड र माधव नेपाल जनमतका विरोधी भएको बताए । उनले नयाँ जनमतमा जानु लोकतन्त्रको विरूद्धमा नहुने बताए ।
देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सिट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै महासचिव पोखरेलले भने, ‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सिटको भीख माग्न लज्जावोध हुँदैन ? समाजवादको गफ हाक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?’
गठबन्धनद्वारा राज्यको लुट
उनले नेपाली काँग्रेस नीतिविहीनताको शिकार भएको भन्दै यदी काँग्रेसभित्र उसको नीति बमोजिम चल्नुपर्छ भन्ने मान्यता राख्ने कोही छ भने बोल्ने बेला आएको बताए ।
नेपाली काँग्रेसले २००७ सालमा राणासँग सम्झौता गरेर अगाडि बढ्दा २०१७ साल निम्तिएको, २०४६ सालको जनआन्दोलनपछि आन्दोलनको सहयोद्धा बाममोर्चासँग नभई राजाका प्रतिनिधिसँग मिलेर कमजोर संविधान बनाउँदा २०६२/६३ को जनआन्दोलनको आधारभूमि तयार भएको र वर्तमान संविधान जारीपछि पनि काँग्रेसले जनादेश विपरीत सत्तामा पुग्ने षडयन्त्रमा लागेको चर्चा गर्दै महासचिव पोखरेलले यदि लोकतन्त्रलाई सङ्कट छ भने त्यो जनादेशको अवज्ञा र गठबन्धनबाट भएको बताए ।
उनले मुलुकमा भ्रष्टाचार र अव्यवस्था मौलाइरहेका र पाँच दलीय गठबन्धनले राज्यमा लुट मच्चाइरहेको आरोप लगाए । महासचिव पोखरेलले गठबन्धन अस्थिरता र नीतिगत विचलनको कारक भएको भन्दै जनताबाट तिरस्कृतहरू मिलेर जनतामाथि शासन गरेको आरोप लगाए ।
नेकपा (एमाले) मुलुकमा आर्थिक, सामाजिक रूपान्तरण चाहेको र जनताको जीवनस्तरमा परिवर्तन चाहेको वताउँदै महासचिव पोखरेलले यस दिशामा अगाडि बढ्न चाहने देशभक्त, बामपन्थी सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।
महासचिव पोखरेलले भने, ‘नेकपा (एमाले) देशमा लोककल्याणकारी राज्य स्थापना गर्न चाहन्छ, मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले शुरू गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियामा सामाजिक सुरक्षाको मोडेल हो, हामीले सामाजिक सुरक्षा भत्ता रकम मासिक पाँच हजार रुपियाँ पुर्याउने जनतासँग गरेको कवोल थियौं, सरकारबाट हटाएर पूरा गर्न नदिएकाले त्यो कबोल पूरा गर्न चाहन्छौं ।’

प्रतिक्रिया