
श्रेणी : BANNER
मधेश प्रदेश अन्तर्गत वीरगंजस्थित सवारी यातायात व्यवस्था कार्यालय अहिले खुला घूस कारोबार र सेटिङ माफियाको अखडामा परिणत भएको छ। कार्यालय प्रमुख कुशेश्वर साह, ट्रायल प्रमुख रामसुन्दर महतो र विशेषगरी लिखित प्रमुख बद्री प्रसाद दाहालको नेतृत्वमा चलेको यो संगठित घूस नेटवर्कले कानुन र ट्राफिक सुरक्षामाथि गम्भीर प्रहार गरेको छ।
लिखित प्रमुख बद्री प्रसाद दाहालले तीन–चार हजार लिएर ब्लुबुक धमाधम नवीकरण गरिदिने र सेटिङकै माध्यमबाट नक्कली नवीकरण,नकली दस्तखत र छाप राखिदिने गरेको पाईएकोछ । यस सञ्जाललाई ट्रायल प्रमुख रामसुन्दर महतो र कार्यालय प्रमुख कुशेश्वर साहको प्रत्यक्ष संरक्षण प्राप्त रहेको देखिन्छ।
स्रोतका अनुसार मोटरसाइकल लाइसेन्समा पनि १०–१५ हजार, कार र लाइट सवारीका लागि १५–२५ हजार र हेभी सवारीका लागि २५–७० हजार रुपैयाँसम्म असुलि गरीने बताईएको छ ।
कार्यालयको गेटमै दलालहरूले सेवाग्राहीलाई घेरेर बार्गेनिङ गरेर रकम उठाउने गर्छन्। पैसा बुझाउनेलाई लाइसेन्स सजिलै दिइन्छ, तर नियमअनुसार फारम भरेका नागरिक उपेक्षित रहन्छन्।
यो सेटिङ सञ्जाल मन्त्रीस्तरसम्म पुगेको प्रमाणित जस्तो देखिन्छ। श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले यसअघिका प्रमुख धर्मेन्द्र लाल कर्णसँग एक करोड रुपैयाँ घूस मागेको, अस्वीकार गरेपछि उनलाई हटाएर कुशेश्वर साहलाई ल्याइएको भन्ने दाबी स्रोतले गरेको छ। प्रमुख साहको नेतृत्वमा मासिक करोडौं रकम संकलन भई मन्त्री सचिवालय र अन्य राजनीतिक तहसम्म पुर्याइने आरोप छ।
कार्यालय प्रमुख कुशेश्वर साह स्वयं पनि विवादास्पद इतिहास बोकेका व्यक्ति हुन्। लहानमा रहँदा घूस प्रकरणमा मुछिएका थिए। वीरगंजमै नक्कली कागजातमार्फत पिकअप गाडी बिक्री गरेको आरोप लागेको थियो। ट्राफिक प्रहरीको मिलेमतोमा नियमविपरीत लाइसेन्स वितरण गरेको प्रमाणहरू पनि सार्वजनिक भइसकेका छन्।
सबैभन्दा अचम्मको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मौनता हो। चितवनको भरतपुर यातायात कार्यालयमा नगदसहित कर्मचारी पक्राउ गर्न सक्ने अख्तियार वीरगंजमा यत्रो खुला भ्रष्टाचार उजागर हुँदा समेत कारबाही नगरी मौन छ। यसले अख्तियार आफैं पनि सेटिङमा त छैन भन्ने गम्भीर प्रश्न उठाएको छ।
वीरगंज सवारी कार्यालयमा चलेको घूस र सेटिङको यो खेलले योग्य नागरिकलाई सडकबाहिर राखेको छ भने पैसा बुझाउने अयोग्यलाई सडकमा सवारी चलाउने इजाजत दिएको छ। यसले न केवल जनताको सुरक्षामा गम्भीर संकट ल्याएको छ, ट्राफिक व्यवस्थामा अराजकता सिर्जना गरेको छ र कानुनमाथि ठाडो अपमान गरेको छ।
प्रमुख कुशेश्वर साह, ट्रायल प्रमुख रामसुन्दर महतो, लिखित प्रमुख बद्री प्रसाद दाहाल र संलग्न दलाल–मन्त्रीसम्म गहिरो अनुसन्धान र कडा कानूनी कारबाही अब अपरिहार्य देखिन्छ।
हामीले यसबारे कार्यालय प्रमुख कुशेश्वर साहसँग सम्पर्क गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन। साभारः नेपालपोष्ठ डेली


प्रतिक्रिया