
श्रेणी : प्रदेश
काठमाडाैं,२६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरी प्रमाण र तथ्यमा आधारित न्यायसङ्गत अनुसन्धान गर्न आग्रह गरेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा ‘द ब्लु प्याभिलियन’ भवनको उद्घाटन समारोहमा बोल्दै उनले निष्पक्ष र निर्भीक भएर काम गर्न निर्देशन दिए।
प्रधानमन्त्री ओलीले प्रहरीलाई संविधान र कानुनको पालन गर्दै जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे। “कुनै तस्कर, भ्रष्ट वा ठगहरूमाथि अनुसन्धान गर्दा उनीहरूको हप्की र ठुला कुरा प्रभावित हुन दिनु हुँदैन। निर्धक्क भएर देशको शान्ति सुव्यवस्था कायम राख्न काम गर्नुहोस्,” उनले भने।
कार्यक्रममा प्रधानमन्त्रीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गर्दै भवन निर्माणमा योगदान दिने अधिकारी र प्राविधिकलाई सम्मान प्रदान गरे। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु ७४ लाखको चेक हस्तान्तरण गरे।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन संशोधन विधेयक संसदमा पेस भएको र छिटो पारित गर्ने प्रतिबद्धता जनाए। शिलान्यास भएको दुई वर्षभित्र रु ७५ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनले प्रहरी सेवामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया