वीरगन्ज :

कुकुर : शहरमा रहर, गाउँमा गोठालाको भर

श्रेणी : समाचार

2 years
birgunj report
96Views
0 Shares

बेनी ।  प्रायः शहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रूपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् ।

यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् ।

परम्परागत रूपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जंगल, पहाड र हिमालका बुकीसम्म नै घुम्ती रूपमा गरिने भेडापालन र गाईभैंसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रूपमा पाल्ने गरिन्छ ।

अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए । ‘हामी पनि गोठमा हुन्छौं तर कहिलेकाहीँ जंगली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जंगली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ,’ उनले भने ।

खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जंगलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रूपमा लिने गरिन्छ ।

खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैंसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए ।

जंगलका बाघ, चितुवा, भालु लगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए ।

‘गोठदेखि जंगलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जंगली जनावरको आवाज र संकेत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौं,’ उनले भने ।

करीब ६०० बढी भेडापालन गरेका छन्त्यालको गोठमा २ जना हेरालु र ४ कुकुरले भेडीगोठ धानेका छन् । चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहेका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजाले बताए ।

गोठका सारथी बनेका कुकुरलाई जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ ।

घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रूपमा चिनिने कुकुरको महत्त्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधनाले थप बढाउने गरेको छ ।

यमपञ्चक अर्थात् दीपावली पर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *