वीरगन्ज :

किसानले धान नल्याएपछि खाद्य कम्पनीले सहकारीबाट खरिद थाल्ने तयारी

श्रेणी : कृषि

4 months
Pradeep Sah
2.0kViews
1516 Shares

वीरगन्ज,१६ माघ । किसानले धान बिक्री गर्न नल्याएपछि वीरगन्जकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहकारी संस्थासँग धान खरिद गर्न तयार भएको छ। शाखा प्रमुख पंकजकुमार झाले बाराको महागढीमाई नगरपालिकास्थित विश्वकर्मा बाबा कृषि सहकारी संस्थासँग अधिकतम २,५०० क्विन्टल धान खरिद गर्न सम्झौता भएको जानकारी दिए।

“सहकारीसँग यो हप्ताभित्र खरिद सुरु हुन्छ,” झाले भने। सहकारीबाट अधिकतम २,५०० क्विन्टलभन्दा बढी धान खरिद गर्न कम्पनीको निर्देशिकाले रोक लगाएको उनले स्पष्ट पारे। पर्साको पटेर्वासुगौली क्षेत्रका सहकारीहरूसँग पनि छलफल भइरहेको छ।

मंसिर २० गतेदेखि धान खरिद खुला गरिएको भए पनि अहिलेसम्म मात्र २,२७३ क्विन्टल धान खरिद भएको छ। यो वर्ष केन्द्रले वीरगञ्ज शाखालाई ४२ हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकेको छ। जसमा ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्ने लक्ष्य छ। तर, अहिलेसम्म किसानले जिरा मसिनो धान बिक्री गर्न ल्याएका छैनन्।

धान खरिद सुरु भएलगत्तै बारामा पञ्चवर्षीय गढीमाई मेला लागेको र त्यसपछि उखु काट्ने तथा गहुँको बीउ छर्ने चटारोका कारण किसान व्यस्त बनेको झाले बताए। “किसानको ट्याक्टर पनि व्यस्त भएकाले उनीहरूले धान बेच्न ल्याउन सकेका छैनन्,” उनले भने।

यस वर्ष खाद्यले सोना मन्सुली धान प्रतिक्विन्टल ३,५८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो धान ४,००० रुपैयाँ प्रतिक्विन्टलमा खरिद खुला गरेको हो। धानको समर्थन मूल्य संघीय सरकारले तोकेको भए पनि किसानहरू निजी क्षेत्रबाट राम्रो मूल्य पाएकाले खाद्य कम्पनीलाई धान बिक्री गर्न कम चासो देखाएको झाले बताए।

धान खरिदलाई सहज बनाउन सहकारीसँगको सम्झौताले खाद्य कम्पनीलाई लक्ष्य प्राप्तिमा सघाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *