
श्रेणी : कृषि
काठमाडौं,२४ बैशाख । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले सरकारले समयमा मल उपलब्ध नगराएर किसानलाई गम्भीर अन्याय गरिरहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले बालीनाली लगाउने प्रमुख समयमा किसानहरू मलको अभावमा मारमा परेको बताए। उनले भने, “सरकारले दिने पसलमा मल छैन, किसानहरू दुई-तीन गुणा महँगोमा निजी स्रोतबाट मल किन्न बाध्य छन्।”
उनले यो अवस्थालाई सरकारप्रति गम्भीर लापरवाहीको रूपमा चित्रण गर्दै भने, “मल नपाएर किसानको उत्पादन क्षमता घटिरहेको छ, जबकि केही समूह किसानलाई लुटेर आफ्ना महल जोड्ने काममा लागेका छन्।”
साहले पहाडी क्षेत्रमा मकै छर्ने महत्वपूर्ण समय चलिरहेको उल्लेख गर्दै डीएपी मलको चरम अभाव रहेको बताए।
उनको भनाइमा सरकारले तुरुन्त मल आपूर्ति सुनिश्चित नगरे किसानहरू थप समस्यामा पर्न सक्छन्, जसको असर देशको समग्र कृषि उत्पादनमा पर्नेछ।

प्रतिक्रिया