
श्रेणी : BANNER
काश्मीर, १० वैशाख । काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको भीषण गोलीकाण्डपछि बुधबार भारतले व्यापक सुरक्षा खोजी अभियान सञ्चालन गरेको छ। मंगलबार जंगलबाट निस्किएका बन्दुकधारीहरूले पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। सन् २००० पछि सर्वसाधारणमाथिको यो सबैभन्दा घातक आक्रमण मानिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। साउदी अरबको भ्रमण छोट्याएर स्वदेश फर्किएका मोदीले तत्काल सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय छलफल गरेका थिए।
घटनास्थलमा भारतीय सुरक्षा बलको ठूलो संख्यामा उपस्थिति देखिएको छ। सुरक्षास्रोतका अनुसार, आक्रमणकारीहरूले भीडमा गोली चलाउँदा घाइतेहरूलाई स्थानीय गाइडहरूले घोडामा चढाएर अस्पताल पुर्याएका थिए। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूले पुरुषलाई लक्षित गरेका थिए र महिलालाई छाडेका थिए।
हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन। तर, सन् १९८९ यता काश्मीरमा सक्रिय विद्रोही समूहहरूले भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै बारम्बार आक्रमण गर्दै आएका छन्। भारतले बारम्बार पाकिस्तानलाई आतङ्ककारीहरूलाई समर्थन दिएको आरोप लगाउँदै आएको छ, जुन इस्लामाबादले अस्वीकार गर्दै आएको छ।
घटनाले अन्तर्राष्ट्रिय स्तरमै प्रतिक्रिया उत्पन्न गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई पूर्ण समर्थन दिने घोषणा गरेका छन् भने युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले ‘युरोप भारतको साथमा उभिन्छ’ भनेकी छन्।
सन् २०१९ को पुलवामा आक्रमणपछि यो भारतमा भएको सबैभन्दा भयावह हमला हो। विश्लेषकहरूले यस घटनाले भारत–पाकिस्तानबीच नयाँ तनाव चर्किन सक्ने चेतावनी दिएका छन्।
काश्मीरमा हाल स्थायी रूपमा करिब पाँच लाख भारतीय सैनिक तैनाथ छन्। यद्यपि, पछिल्ला वर्षहरूमा हिंसा केही घटेको थियो। अब पुनः यस्तो आक्रमणले क्षेत्रीय शान्तिमा गम्भीर चुनौती प्रस्तुत गरेको छ।

प्रतिक्रिया