वीरगन्ज :

कालीगण्डकीमा एक दिन केराका परिकार अनिवार्य

श्रेणी : समाज

2 years
birgunj report
7Views
0 Shares

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ। गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।

गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेरा जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । उहाँले उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रूपमा पालिकाभित्रकै नागरिकलाई प्राथामिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निर्णय गरेको बताए।

‘गाउँपालिकाको निर्णय सबैका लागि स्वरोजगारको माध्यम बन्ने छ’, उनले भने। गत साउन ३२ गतेको पालिकाको निर्णय अनुसार केरा खेतीको प्रोत्साहन र कृषकको बजारको सहज पहुँचका लागि यो निर्णय गरिएको उनको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भदौको पहिलो बुधबारदेखि यो कार्यक्रम तोकिएका स्थानमा लागू गरिने जानकारी दिए। उनले सम्बन्धित कार्यालयलाई हरेक बुधबार केराका परिकार खुवाउनुपर्ने परिपत्र गरेको बताए। पाण्डेले पहिलो चरणमा केराको सेल रोटी, पकौडा, आचार, चुकौनी, ससेजलगायतका परिकार बन्ने बताए।

‘बुधबारदेखि गाउँपालिका र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरुआत गर्नेछौँ, क्रमशः वडा कार्यालयमा, विद्यालयमा र विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रममा समेत यसलाई समेट्ने छौँ’, उनले भने, ‘हामीले पालिकाभित्रका सम्पूर्ण होटल, खाजाघर, घरवासलगायतका भान्सेलाई यससम्बन्धी तालिम दिने योजना बनाएका छौँ, त्यसपश्चात् अझ धेरै केराका परिकार बन्ने छन्।’

गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ। यसअघि ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित पालिकाभित्रका नागरिकलाई हस्तकलाका सामग्री बनाउन तालिम दिइएको थियो।

प्रशासकीय अधिकृत पाण्डेका अनुसार पालिकाले बृहत् रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, फलको विभिन्न खानाका परिकार बनाउने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा र पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ।

‘गाउँपालिकाबाट तीन विद्यालय र ९० किसानलाई २० हजार केराका बिरुवा वितरण गरिएको छ’, पाण्डेले भने, ‘हाल १८ हजार बिरुवा हुर्किरहेका छन्, यो योजनाबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा करिब ९०० स्वरोजगार बन्ने पालिकाको विश्वास छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *