
श्रेणी : मधेस
बीरगन्ज,१८ साउन । थारु आयोगको आन्तरिक विवादले चरम रुप लिँदा कार्यवाहक अध्यक्ष सुबोधसिंह थारु एक घण्टासम्म आफ्नै कार्यकक्षमा थुनिन पुगेका छन्।
आयोगकी सदस्य शान्तिदेवी मोदीले अध्यक्ष थारुलाई कार्यकक्षमा थुनेर ढोकामा बाहिरबाट ताला लगाएको घटना सार्वजनिक भएपछि आयोगभित्र गम्भीर तनावको स्थिति सिर्जना भएको छ।
घटनाको जरो एक महिनादेखिको अनुपस्थित हाजिरी एकैदिन गर्ने प्रयास थियो। कार्यवाहक अध्यक्ष थारुले नियमविपरीत भन्दै हाजिरी रोकेपछि मोदी आक्रोशित भएकी थिइन्। त्यसपछि उनले कार्यालयको ढोका बाहिरबाट थुनेर अध्यक्षलाई भित्रै बन्द गरिदिएकी हुन्।
मोदीले ताला लगाएको फोटोसमेत आफ्नो फेसबुकमा पोस्ट गर्दै सार्वजनिक रूपमा प्रदर्शन गरेपछि विवादले थप तरंग ल्यायो।
घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर ताला खोली थारुलाई मुक्त गराएको थियो। करिब एक घण्टा थुनिएको कार्यवाहक अध्यक्ष अहिले सुरक्षित अवस्थामा रहेको जनाइएको छ।


प्रतिक्रिया