
श्रेणी : BANNER
काभ्रे । जिल्ला अदालत काभ्रेमा चालु आर्थिक वर्षका ९ महिनामा सम्बन्ध-विच्छेदका ३ सय ६५ मुद्दा दर्ता भएका छन्। बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटना बढ्न थालेको विश्लेषण गर्न थालिएको छ।
काभ्रे अदालतका अनुसार सम्बन्ध विच्छेदको उक्त सङ्ख्या २०७९ साउन महिनादेखि चैतसम्मको हो। चालु आवको उक्त घटना दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेष्तेदार गोविन्द घिमिरेले बताए। उनका अनुसार वैशाखमा मात्र झन्डै दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। ‘अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदसम्बन्धी घटना यो वर्ष ह्वात्तै बढेको पाइयो, यो निकै डरलाग्दो सङ्ख्या हो’, घिमिरेले भने।
जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जनाइएको छ। जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताए। उनले भने, ‘सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन्। बाल मस्तिष्कमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन।’
सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पुर्याउने चिन्ता व्यक्त गर्न थालिएको छ। घिमिरेका अनुसार सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ। केहिले सम्बन्ध विच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन्।
जिल्लामा फौजदारी सरकारवादीअन्तर्गत दर्ता हुने मुद्दामध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणीसम्बन्धी मुद्दा छन्। हरेक महिना चारभन्दा धेरै जबर्जस्ती करणीका घटना दर्ता हुने गरेको अदालती तथ्याङ्कले देखाएको छ। यही अवधिमा महिनाको अवधिमा ४१ करणीसम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ। जसमा जबर्जस्ती करणीसम्बन्धी ३६ र बालयौन दुर्व्यवहारमा चारवटा र जबर्जस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको हो।
सहमतिमा सम्बन्ध राख्ने र पछि परिवार, समाज र आफन्तले जानकारी पाएपछि जबर्जस्ती करणीमा अभियोग दर्ता भएका केही मुद्दा पनि रहेको जनाइएको छ। प्रेम गर्ने, सम्बन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको पाइएको छ। यस्ता घटनामा एकल महिला, बालिकादेखि वृद्धासम्म जबर्जस्ती करणीका सिकार बनेको घटनाक्रमले देखाएको छ।
जिल्ला अदालत धुलिखेलमा दर्ता भएकामध्ये अंश चलनसम्बन्धी एक सय ७५ थान मुद्दा यस वर्षका छन्। नौ महिनाको अवधिमा महिलाले १६ मानाचामलमा र एक सय ७५ वटा अंश चलनसम्बन्धी मुद्दा दर्ता गराएको घिमिरेले जानकारी दिए। उनका अनुसार यही अवधिमा बहुविवाहसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन्।

प्रतिक्रिया