
श्रेणी : अन्तर्राष्ट्रिय
अफगानिस्तानमा तालिबानबाट इस्लामिक स्टेटका एक जना योजनाकार मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । तालिबानले सत्ता लिएपछि सन् २०२१ मा अफगानिस्तानको छोडेर जान काबुल विमानस्थलमा कैयौँ मानिसहरू भेला भएको ठाउँमा बम प्रहार भएको थियो । अमेरिकी अधिकारीहरूले १७० जना सर्वसाधारण र १३ अमेरिकी फौजको ज्यान जाने गरी भएको उक्त बम हमलाका मुख्य योजनाकार दुई साता अघि मारिएको बताएका छन् ।
उनी मारिएको निश्चित गर्न समय लागेको बताइएको छ र उनको नाम हालसम्म सार्वजनिक गरिएको छैन । अमेरिकी अधिकारीहरूले गुप्तचर सूचना र उक्त क्षेत्रको अनुगमनबाट आईएसका ती नेता मारिएको ठहर गरिएको बताएका छन्। उक्त बम आक्रमणमा उनको संलग्नताबारे थप विवरण पनि अधिकारीहरूले खुलाएका छैनन् ।
न्यूयोर्क टाइम्समा प्रकाशित एक विवरण अनुसार अमेरिकाले उनको मृत्युबारे अप्रिलको सुरुमै थाहा पाएको थियो। तर उनी तालिबानको निशानामा मारिएको वा आईएस र तालिबानबीच जारी द्वन्द्वमा उनी मारिएको भन्ने प्रस्ट नभएको पत्रिकाले उल्लेख गरेको छ ।
सोमवारबाट अमेरिकाले उक्त बम आक्रमणमा मारिएका सैनिकहरूका परिवारलाई आईएस नेताको मृत्युबारे जानकारी गराउन सुरु गरेको थियो । उक्त बम आक्रमणमा मारिएका अमेरिकी जल सेनामा कार्यरत टेलर हुभरका पिता डरिनले जलसेनाले आफूलाई उक्त समाचारबारे जानकारी दिएको पुष्टि गरे।


प्रतिक्रिया